|
तस्वीर : केदार पौडेल

कास्की : पोखरामा शुक्रबारबाट नाटक ‘आतुरकाल’ को मञ्चन सुरु भएको छ। इन्द्रेणी थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटकलाई मञ्चनमा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेका हुन्।

फागुन ११ गते बिहीबारसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने उक्त नाटकलाई केदारनाथ पौडेलले लेखेका हुन् भने कपिल शर्माले निर्देशन गरेका हुन्। नाटकको सह–निर्देशन लक्ष्मण डुम्रेले गरेका छन्।

करिब एक घण्टा अवधिको उक्त नाटकमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र विनोद पौडेलको अभिनय रहेको छ।

नाटक लेख्दा आफू धेरै पटक भावविह्वल भएको लेखक पौडेलले बताए। नाटकबारे उनी भन्छन्, 'देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए। थुप्रै व्यवस्था बदलिए तर न आत्मा न शरिरले सुखको अनुभुती गर्न पायो। जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुग्यो। पीडा, दुख र संघर्षको पहाड हो आतुरकाल।'

यस्तै नाटकका निर्देशक शर्माले यो नाटक विशेषत: गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको बताउँछन्। समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र रहेको उनले बताए।

'नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ-आफ्नै सभ्यताहरू छन्। एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्छ। आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्छ। एउटा सन्तान/एउटा बाबु/एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्छ। यो चक्र नै नाटकको मुख्य विषय हो', उनले भने।

हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त सोमार्फत् दिउँसो १ बजे हुने लेखक पौडेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.