|

काठमाडौं : प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानून व्यवसायीहरुले अविलम्व प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

सोमबार सर्वोच्च अदालत बार एशोसिएशनको ४९ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका कानून व्यवसायीहरुले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडी बढाउन माग गरेका हुन्।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनिय नभएको बताए।

प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्ने साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने उहाँले बताउनु भयो। उहाँले प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरुको अकर्मण्यता भएको बताए।

उनले भने, ‘न्यायपालिकाको प्रमुख लामो समयदेखि रिक्त रहनु पहिलो कुरा शोभनीय हुँदैन। दोस्रो कुरा यसले न्याय सम्पादनमा गम्भीर असर परिरहेको छ। ढुक्कका साथ आफू प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्न नपाउँदाखेरी प्रधानन्यायाधीश र निजबाट सम्पादन हुने काममा यसको प्रत्यक्ष असर पर्छ। यसले गर्दा यो राजनीतिक दलहरुको अकर्मण्यता हो। अविलम्व प्रधानन्यायाधीशको नियुक्ति गर्नतर्फ राजनीतिक दलहरु लाग्नुपर्छ।'

त्यस्तै, वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्यायाधीशबाट चलाउनु संविधान विरुद्धको काम भएको बताए। उनले छिटोभन्दा छिटो स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संसद् लगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

उनले भने, ‘नेपालको सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीश अस्थायी रुपमा राख्ने संविधान बिरुद्धको काम अहिले लामो समयदेखि भइराखेको छ। अरु न्यायाधीश स्थायी सर्वोच्च अदालतको प्रधानन्यायाधीशचाहीँ अस्थायी। यस्तो गर्ने बेइमानीहरुको राज्य चलेको भन्ने प्रमाण होला कि भन्ने पिर लागेको छ। त्यसो भएको हुनाले छिटोभन्दा छिटो प्रधानन्यायाधीशलाई स्थायी गर्नेतर्फ सम्बन्धित निकाय संसदसहितले उचित र पर्याप्त चाँडै ध्यान पुर्‍याओस्।’

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयको लागि परिकल्पना गरिएको पद भएको बताए। उनले स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको बताउनु भयो। लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास चलिराखेको भन्दै उनले यस्तो हुँदा न्याय सम्पादनमा फरक पर्ने बताए।

उनले प्रधानन्यायाधीश नियुक्त गर्न सरकार र संसदलाई आग्रह गरे।

त्यस्तै सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कामयमुकायम प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालत चलाउनु उचित नभएको बताए।

उनले संवैधानिक इजलाशको नेतृत्व प्रधानन्यायाधीशले नै गर्नुपर्ने बताए। कायम मुकायमले निडर भएर गुणस्तरीय फैसला गर्न नसक्ने उनको भनाइ छ।

उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया यथाशीघ्र अगाडि बढाउन माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.