|

बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बीचबाट गएपछि बागलुङको बडिगाड गाउँपालिकाले मुहार फेरेको छ।

गाउँपालिकाको वडा नम्बर १ हाँडीखोलादेखि वडा नम्बर ७ भीमगिठेसम्मका विभिन्न ठाउँमा बजार विस्तार हुँदै गएका छन्। बजार विस्तार हुँदै गएपछि आपराधिक घटनाहरू पनि बढेका छन्। बजार क्षेत्रमा सिसी क्यामरा जडान नहुँदा प्रहरीलाई घटनामा संलग्न व्यक्ति पत्ता लगाउनसमेत गाह्रो परेको छ।

गाउँपालिकाले आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सिसी क्यामरा जडान गर्न थालेको छ। वडा नम्बर १ देखि ७ सम्मका ८ बजारमा सिसी क्यामरा जडान गर्न थालिएको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।

उनका अनुसार वडा नम्बर १ को हाँडीखोला, वडा नम्बर २ खर्बाङ, वडा नम्बर ५ को न्वारा, खौलारा र खारा, वडा नम्बर ६ को खाल, वडा नम्बर ७ को भीमगिठे र भीमघाट बजारमा सिसी क्यामेरा जडान गर्न थालिएको हो।

अध्यक्ष अधिकारी भन्छिन्, 'लोकमार्ग छेउछाउका क्षेत्रहरूमा धमाधम घर‚ भवनहरू बनिरहेका छन्, सँगसँगै बढ्दो बजारीकरणका कारण यहाँ धेरै घटनाहरू पनि हुने गरेका छन्। त्यस्ता घटना नियन्त्रण गर्न गाउँपालिकाले बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्न थालेको छ, पहिलो चरणमा ८ वटा बजारमा सिसी क्यामरा जडान गर्दै छौँ।'

उनले सिसी क्यामरासँगै आगामी वर्ष सडकबत्तीसमेत जडान गर्न बताइन्। बजार क्षेत्रको सौन्दर्यीकरणसँगै सडकबत्तीले चोरी तथा अन्य घटना हुनबाट रोक्ने उनको भनाइ छ। सिसी क्यामराको कन्ट्रोल प्रत्येक प्रहरी चौकी र गाउँपालिकामा हुने अध्यक्ष अधिकारीले बताइन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले कार्यपालिकाको निर्णयअनुसार बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्न थालिएको बताए।

८ वटा बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्दा करिब ५ लाख लागत लाग्ने भण्डारीको भनाई छ। अहिले यी क्षेत्रमा राखेर सुरुवात गर्न थालेको भन्दै आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि विस्तार गर्ने उनले बताए।

‘बजार क्षेत्रमा सिसी क्यामरा र सोलार बत्ति अति आवश्यक पर्छ, आगामी वर्ष सोलार बत्तिको समेत व्यवस्थापन गर्ने गरि योजना बनाइरहेका छौँ',’ प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, 'सिसी क्यामरा र सडकबत्तिसँगै बजारलाई थप व्यवस्थित गराउनेतर्फ हामीहरू लागेका छौँ।'

हाल वडा नम्बर ५ मा मात्रै सडकबत्ति जडान भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.