|

काठमाडौं : गत पुसको दोस्रो साता बाँकेमा देखिएको दादुरा संक्रमण हाल ९ जिल्लामा पुगिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाका भरत भण्डारीका अनुसार ९ जिल्लामा हालसम्म ६०१ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ।

‘यो वर्ष बाँकेमा माहामारीकै रूप लियो भने पनि हुन्छ। बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, महोत्तरी, मोरङ, दैलेखमा पनि संक्रमण देखिएको छ’‚ भण्डारीले भने।

उनका अनुसार बाँकेमा ३२२ जना र महोत्तरीमा १०१ जना संक्रमित छन्। यस्तै सुर्खेत र बर्दियामा पनि दादुरा संक्रमण अलि बढी देखिएको छ। दादुरा भएकामध्ये ८७ प्रतिशत बालबालिका १५ वर्षमुनिका रहेको समेत उनले बताए।

सन् २०१९ मै दादुरा उन्मूलन गर्ने लक्ष्य भए पनि पछि बढाएर सन् २०२३ सम्म सारियो। अबको १० महिनामा दादुरा उन्मूलन घोषणा गरिसक्नुपर्ने भए पनि दादुराका विरामी धेरै देखिन थालेका छन्।

गत वर्ष पनि देशभर १ हजार १ सय बालबालिकामा दादुरा संक्रमण देखिएको थियो।

यो वर्ष त बाँकेमा खोप कार्यक्रम सञ्चालन गरिएको छ। बाँकेलाई गत वर्ष नै पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका एक वरिष्ठ स्वास्थ्यकर्मीका अनुसार पछिल्ला वर्षमा ७० प्रतिशत पनि खोप कभरेज नभएको जिल्लालाई पनि पूर्ण खोप जिल्ला घोषणा गर्दा समस्या भएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण  २०२२ ले नेपालमा पछिल्लो ५ वर्षमा बालबालिकालाई लगाइने नियमित खोपको कभरेज घटेको देखाएको थियो। २३ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्ध बी.सी.जी. खोप डी.पी.टी. हेप/ बि-हिब पोलियोको खोप दादुरा-रुबेला जस्ता लगाउनैपर्ने खोप विगत पाँच वर्षमा ४ प्रतिशत बालबालिकाले नलगाइएको पाइएको हो।

सरकारले वर्षेनि एक वर्षमुनिका करिब ५ लाख ३८ हजार बालबालिकालाई नियमित खोप लगाउने गरे पनि खोप लगाउनुपर्ने उमेर समूहका बालबालिकामध्ये करिब २१ हजार ५२० बालबालिका छुटेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको रिपोर्टले देखाएको थियो।

पछिल्लो समय दादुरा संक्रमण फैलिनुको मुख्य कारण खोप लगाउन छुट्नु भएको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन।

उन्मूलनमा चुनौती थपिएको हुँदा एकपटक देशभर दादुराको खोपको कभरेजबारे अध्ययन गर्नुपर्ने अवस्था आएको समेत डा. पुनले बताए।

‘बालबालिकालाई लगाइँदै आएको खोपमध्ये दादुराविरुद्धको खोप एकदमै प्रभावकारी खोप हो तर हाम्रोमा पछिल्लो वर्ष वर्षेनि दादुराका धेरै विरामी देखिन थालेका छन्। त्यसैले गर्दा एकपटक दादुरा खोपको कभरेजबारे एकपटक अध्ययन गर्नुपर्ने अवस्था आएको छ’‚ डा. पुनले भने।

दादुरा रोग लागेपछि बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले भिटामिन ए तत्काल दिनुपर्ने उनले बताए।

के हो दादुरा?

दादुरा श्वासप्रश्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको सरुवा रोग हो। मिजल्स भाइरसको संक्रमणबाट यो रोग लाग्छ। खासगरी यो रोगले कुपोषित बच्चाको बढी मृत्यु गराउँछ।

दादुराले फोक्सोको संक्रमण भएपछि निमोनिया, मस्तिष्कको संक्रमण, मुटुको संक्रमण, कलेजोको संक्रमण‚ मिर्गौलाको संक्रमण, कानको संक्रमण, आँखाको संक्रमण र रगतमा प्लेटलेटको मात्रा कम गराई रगत बग्ने जस्ता जटिल खालका स्वास्थ्य समस्या निम्त्याउँछ।

दादुरा रोग लागेका बालबालिकालाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ। दादुरा रोगीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आउँदा, हाच्छ्यूँ गर्दा र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो सर्छ।

दादुरा सरुवा रोग भएका कारण संक्रमण देखिएका बिरामी खोक्दा, खाने कुरा बाँडेर खाँदा, एउटै कपडा पालैपालो गरेर प्रयोग गर्दा अन्य व्यक्तिमा सर्छ। दादुरा संक्रमित बालबालिकामा ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्षण देखिन्छ।

समयमै उपचार नहुँदा दादुराको संक्रमणबाट बालबालिकाको मृत्यु हुने जोखिम पनि हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.