|

पर्वत : गाउँका बासिन्दाले सदरमुकाममा रहेका स्वास्थ्य संस्थामा, सदरमुकाममा बस्दै आएकाले पोखराका स्वास्थ्य संस्थामा अनि पोखराका बासिन्दाले काठमाडौंमा रहेका स्वास्थ्य संस्थामा विश्वास गर्छन्। फेरि सुविधाका हिसाबले पनि गाउँमा रहेका स्वास्थ्य संस्थादेखि जिल्ला सदरमुकाम, प्रदेश हुँदै राजधानी उपयुक्त छ।

उपचारका लागि पर्वत सदरमुकामबाट कुश्मा बजारबाट नजिकैको सुविधायुक्त ठाउँ भनेको पोखरा हो। त्यहाँ पुग्नको लागि सडक मार्गबाट करिब दुई घण्टा लाग्छ। त्यो भन्दा राम्रो ठाउँ काठमाडौं जानको लागि कम्तीमा आठ घण्टा लाग्छ। तर काठमाण्डौँदेखि आएका चिकित्सकले गाउँमा पुगेर दिएको सेवाले भने जिल्लाको फलेवास नगरपालिका सहित अन्य स्थानीय तहका नागरिकलाई पनि खुसी मिलेको छ।

पर्वत र बागलुङ जिल्लालाई लक्षित गरेर लायन्स क्लब अफ काठमाडौं देउराली दियालोले फलेवास नगरपालिका–५ खानीगाउँमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छ। जहाँ पहिलो दिनमा नै १२ सय ५० जनाले स्वास्थ्य परीक्षण गरेका छन्। स्थानीय स्तरमा रहेका स्वास्थ्यकर्मीबाट रोगको निदान नभएको भए पनि विभिन्न बाध्यताले काठमाडौं लागिहाल्न सहज छैन। तर विशेषज्ञ चिकित्सकहरू नै गाउँमा पाएपछि भने वर्षौँदेखि पालिएका रोगको निदानका लागि बिरामीहरूको भीड फलेवासमा छ।

बागलुङको जैमिनी नगरपालिका–६ जैदीकी रिता थापा बिरामीकै भिडमा भेटिइन। खुट्टा तथा ढाड दुख्ने समस्याले ग्रसित  उनलाई हिँड्न डुल्न तथा उठ्न बस्न समेत गाह्रो हुँदै गएको थियो। तीन वर्षदेखि उक्त समस्याले भोगिरहेकी थापा आर्थिक अभाव र घरायसी समस्या कारण विशेषज्ञ चिकित्सकसम्म पुग्न सकिनन्। उपचारका लागि गाउँका स्वास्थ्य क्लिनिकहरूले पोखरा वा काठमाडौं जान सुझाव दिँदै आए पनि उनी जान सकेकी थिइनन्। छिमेकी पर्वत जिल्लाको   फलेवासमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने खबरले उनी त्यहाँ आइपुगेकी हुन्।

फलेवास नगरपालिका–६ देविस्थानका ८१ वर्षीय देवीप्रसाद भुसाल पनि छ वर्षदेखि हातखुट्टा पोल्ने र दुख्ने समस्याबाट पीडित छन्। चिकित्सक खोज्दै काठमाडौंसम्म जानुपर्ने अवस्थाका उनी पनि काठमाडौं चिकित्सक गाउँमा पाउँदा अवसरको सदुपयोग गर्न पछि परेनन्। ‘यहाँ त बेल बेलामा जाँचेर औषधि खाएकै हो। यसो बिसेक भए जस्तो भए पनि निको भएन। जँचाउन काठमाण्डौं जानुपर्छ की भनेको बेलामा डक्टर यहीँ आउने थाहा पाएर पर्खेर बसेको थिएँ,’ भुसाल भन्छन्, ‘पोखरा जाँदा पनि एक दुई दिन लागिहाल्छ। काठमाण्डौं गएर देखाउँदा तीन चार दिन लाग्छ। टाढा छ, खर्चको मेसो उस्तै। उताका डाक्टर गाउँमै आएसी अब यहीँ ठिक हुन्छ भनेर देखाउन आएको।’
दुर्गम भेगमा बसोबास गरिरहेका र स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नसक्ने अवस्थाका बिरामीलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक कृष्ण सापकोटा बताउँछन्। शिविरमा सबै खालका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण सहित निःशुल्क औषधि उपलब्ध गराइएको छ। उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका तथा गरिब र विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको सापकोटा बताउँछन्।

आइतबारसम्म सञ्चालन हुने शिविरमा पहिलो दिनमा नै एक हजार दुई सय ५० जनाले सेवा लिएकोमा दोस्रो दिन यो भन्दा बढी सङ्ख्याका बिरामीहरू आउने अनुमान छन्। शनिबार दाँत सम्बन्धी सेवा एक सय जनाले, एक्स–रे सेवा ३० जनाले, जनरल मेडिसिन सेवा चार सय जनाले, सुगर सम्बन्धी ल्याब सेवा ८० जनाले आँखा सम्बन्धी सेवा दुई सय ५० जनाले, महिला तथा प्रसूति सेवा एक सय ५० जनाले तथा हाड जोर्नी सम्बन्धी सेवा तीन सय ५० जनाले लिएका छन्।

लायन्स क्लब अफ काठमाडौं देउराली दियालोका अध्यक्ष इन्द्र के.सी.का अनुसार शिविरमा ६८ प्रकारका औषधी निःशुल्क वितरण गरिने छ भने दाँत, हाड जोर्नी तथा नशा रोग, आँखा, स्त्री तथा प्रसूति, छाला तथा यौन, बाल रोग, प्रयोगशाला,   एक्स–रे, भिडियो एक्स–रे र औषधी वितरण लगायतका क्षेत्रमा सेवा प्रदान भइरहेको छ।

फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिबारी उपचारको लागि सुविधासम्पन्न अस्पतालमा जान नसक्ने फलेवासवासीका लागि शिविर उपयोगी बनेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.