‘अब कोही सडक बालबालिका शिक्षाबाट वञ्चित हुँदैनन्’

|

काठमाडौं : साथ साथ नामक सामाजिक संस्थाले  सडकसँग आबद्ध बालबालिकाको शैक्षिक स्तर उकास्न मोबाइल स्कुल सञ्चालनमा ल्याउने भएको छ। संस्थाले बुधबार आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा मोबाइल स्कुल सञ्चालन गर्न लागेको साथ साथका कार्यकारी निर्देशक विश्वराज बज्राचार्यले बताए।

कार्यकारी निर्देशक बज्राचार्यका अनुसार यो मोबाइल स्कुलमा अध्ययनबाट वञ्चित बालबालिका, कारणवश स्कुल छोडेर बसेका बालबालिकाहरूको हितका लागि अनौपचारिक शिक्षा प्रदान गर्ने शैक्षिक उपकरण भएको जानकारी दिए।

यसका साथै मोबाइल स्कुलले बालबालिकाको माझमा गुणस्तरीय शिक्षामा पहुँच बनाउन प्रोत्साहन गर्ने र सम्भावनाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको उनले बताए।

‘मोबाइल स्कुलमा धेरै तरिकाबाट शिक्षा प्रदान गरिन्छ, खेलकुद, कला र सीप गतिविधि, बाल पुस्तकालय, बालबालिकालाई विद्यालयमा उपयुक्त तहसम्म भर्ना गराउन बहुस्तर शिक्षण विधिहरू प्रयोग गरिन्छ। बालबालिकाहरूको समग्र विकासलाई प्रवर्द्धन गर्न, बालबालिकाको आत्मबल बढाउने, जीवन उपयोगी सीप शिक्षाको नियमित सूत्रहरू प्रदान गरिन्छ’‚ उनले भने।

किन ल्याइयो मोबाइल स्कुल सञ्चालन ?

साथ साथका कार्यकारी निर्देशक बज्राचार्यका अनुसार सडकसँग आबद्ध बालबालिका, विद्यालय बाहिर रहेका बालबालिका, आप्रवासी र गैरआप्रवासी सबैलाई उनीहरूकै स्थानमा गई शिक्षासम्मको पहुँचमा पुर्‍याउन यो ल्याइएको हो।

बालबालिकालाई शिक्षाको महत्त्व र त्यसको उपयोगिताबारे जानकारी गराउँदै शैक्षिक रूपमा बालबालिकाको क्षमताको विकास गर्नु, बालबालिका तथा उनीहरूका अभिभावकहरूसँग सम्बन्ध विस्तार गर्दै बालबालिकालाई विद्यालय जान उत्प्रेरित गर्न यो मोबाइल स्कुल सञ्चालन ल्याएको उनले बताए।

‘अभिभावकहरूलाई शिक्षाको महत्त्वबारे जानकारी गराउँदै परिवारबाटै बालबालिकालाई विद्यालय जाने वातावरण निर्माण गराउन यो ल्याएका हौँ’‚ उनले भने।

उनका अनुसार नेपालमा सडक बालबालिकाको संख्या ५ हजार रहेको छ। सामाजिक तथा आर्थिक कारणले सडकसम्म आइपुग्ने बालबालिकाहरू नैसर्गिक अधिकारबाट वञ्चित भएको उनले बताए। 

साथ साथको २५ औ वार्षिक दिवस 

साथ साथ विगत २५ वर्षदेखि जोखिम परिस्थितिमा रहेका बालबालिकाको क्षेत्रमा कार्यरत गैरआवासीय गैरसरकारी संस्था हो। यसको मुख्य उद्देश्य भनेको जोखिम परिस्थितिमा रहेका बालबालिकालाई समाजमा पुनःस्थापना गर्नु रहेको साथ साथका कार्यकारी निर्देशक बज्राचार्यले बताए।

साथ साथले त्यस्ता जोखिम परिस्थितिमा रहेका बालबालिकालाई औपचारिक र अनौपचारिक शिक्षा, सीपमूलक र व्यावसायिक तालिम आर्थिक उपार्जन गर्न सक्ने शिक्षा वा ज्ञान दिई उनीहरूको क्षमतालाई बढाई बौद्धिक विकास गर्न सहयोग गर्नु, सडक बालबालिका तथा सडकसँग आबद्ध बालबालिकाको कानूनी पहिचानको लागि पनि कार्य गर्दै आइरहेको उनको दाबी छ।

फागुन १७ गते मार्च १ का दिन साथ साथ संस्था २५ औँ वर्षमा प्रवेश गरेको छ। 

साथ साथका कार्यकारी निर्देशक बज्राचार्यका अनुसार अफ्रिका‚ युरोप र अमेरिका हुँदै एशियामा मोबाइल स्कुल सञ्चालन गर्ने ३५ औँ राष्ट्र नेपाल हो। मोबाइल स्कुलले विश्वभर सडकसँग आबद्ध भएका ६८ हजार बालबालिका माझ अनौपचारिक शिक्षा पुर्‍याएकाे छ।

यसैगरी सडक बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन साथ साथ संस्था नेपालमा पहिलोपटक मोबाइल स्कुल सञ्चालनमा ल्याउने पहिलो संस्था रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.