|
प्रतीकात्मक तस्विर

रामेछाप : उमाकुण्ड गाउँपालिका–२ का खम्बध्वज बस्नेतलाई दिनमा भोक र रातमा निद्रा हराएको छ। 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, जलविद्युत् आयोजनाहरूले आयोजना निर्माणका लागि सामग्री ल्याउन मनलागी रूपमा सडक ठूलो बनाउँदा बस्नेतको घर पहिरोले तानेको छ। 

दुःख गरेर बनाएको घर नै पहिरोले तानेपछि बस्नेतलगायत उहाँका परिवारकै भोक र निद्रा हराएको छ। जलविद्युत् आयोजनाले विभिन्न आश्वासन दिएर जथाभावी खनेको सडकका कारण बस्नेतको भूकम्पपछि बनाएको टहरा पहिरोले तानिसकेको छ भने अहिले बसिरहेको दुईवटा घर पनि उच्च जोखिममा छ। 

जलविद्युत् आयोजनाहरूले आफ्नो सामान ल्याउन ठूला गाडी गुडाउन मनलाग्दी फराकिलो बनाएको सडकबाट पहिरोले तान्दा अहिले घरमा बस्ने स्थिति नभएको उनले बताए। ‘पहिरोले घरमा बस्ने स्थिति छैन, अहिले त जसोतसो बसेका छौँ तर बर्खामा बस्ने अवस्था छैन। हाइड्रो प्रोजेक्टले उठिबास लगायो। हाम्रो समस्या कसैले देखेनन्, सुनेनन्’,  आँसु झार्दै उनले भने, ‘अरू केही चाहिँदैन घर र जग्गामा गइरहेको पहिरो रोकथाम गरेर परिवारलाई सुरक्षित बस्ने वातावरण बनाइदिए पुग्छ।’ 

खम्बध्वज बस्नेतको मात्रै होइन उमाकुण्ड गाउँपालिका–२ का तेजबहादुर बस्नेतको पनि पीडा उस्तै छ। गाउँपालिकाका विभिन्न स्थानमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरूले बाटोघाटो चौडा बनाउँदा उहाँको पनि घरसहित चारवटा खेत पहिरोको निसाना बनेका छन्। 

सडक चौडा बनाउने बहानामा केही मतलब नगरी जथाभावी सडक खन्दा आफ्नो घर पहिरोको उच्च जोखिम पर्दा परिवारकै उठिबास लागेको उनले बताए। ‘गाउँको विकासका लागि एक घर एक कोदालो अभियानले सडक बनाइयो। अहिले हाइड्रो पावरले यही सडकलाई प्रयोग गरेर उठीबास लगायो’, उनले भने, ‘अहिले त जसोतसो बसेका छौँ, बर्खामा कहाँ गएर बस्ने भन्ने चिन्ताले सताएको छ।’ 

उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूका कारण वडा नं २ का खम्बध्वज बस्नेत र तेजबहादुर बस्नेतको जस्तै धेरै परिवारको उठीबास लाग्ने अवस्था बनेको छ। जलविद्युत् आयोजनाले आयोजना निर्माणका लागि आवश्यक सामग्री ल्याउन प्रयोग गरेको उमाकुण्ड गाउँपालिकाबाट सोलुखुम्बु जिल्ला जोड्ने देउराली, बाम्ती ठाडो खोला सडक खण्ड भत्किएको छ। 

यो सडक खण्डमा जलविद्युत् परियोजनाको ठुल्ठूला ट्रक हिँडेका कारण सडक भत्किएर अन्य साना यात्रुवाहक सवारी साधन गुड्न सक्ने अवस्था नरहेको चालक ज्ञानेन्द्रबहादुर पुरीले बताए। 

‘ठूला ठूला ट्रक गुडेर बाटो साह्रै खराब बनेको छ, गोकुलगङ्गा गाउँपालिकाको वडा नं २ ठोसेको शिवालयदेखि उमाकुण्ड गाउँपालिकाको देउराली, बाम्ती ठाडो खोला सडकमा साना सवारीसाधन गुड्न सक्ने अवस्था छैन’, उनले भने।

वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार काम नगर्ने र विभिन्न बहानामा गाउँपालिकाका नागरिकलाई दुःख दिने जलविद्युत् आयोजना आवश्यक नरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए। 

‘जलविद्युत् आयोजनाहरूले वातावरणीय प्रभाव मूल्यांकन कार्यान्वयन गर्ने त कुरै छाडौँ, विभिन्न आश्वासन र प्रलोभनमा नागरिकलाई दुःख दिनेबाहेक केही गरेको छैन, आयोजनामा काम गर्दैगर्दा ज्यान गुमाएका मजदुरले पाउनुपर्ने क्षतिपूर्ति दिन पनि आयोजना मान्दैन’, उनले भने। आयोजनाका कारण भत्किएको सडक निर्माणका बारेमा स्थानीय सरकार, जिल्ला प्रशासन र स्थानीयवासीबीच पटक पटक सहमति भए पनि सहमतिअनुसार आयोजनाले काम नगरेको उनको भनाइ छ। 

रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखु नदीमा अहिले नौवटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। रामेछापको उमाकुण्ड गाउँपालिकामा ५७।५ मेगावाट क्षमताको नुप्चे जलविद्युत् आयोजना, ७७ मेगावाटको लिखु–१ जलविद्युत् आयोजना र ५५ मेगावाटको लिखु–२ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। 

त्यसैगरी ४.५ मेगावाटको मध्यलिखु साना जलविद्युत् आयोजना, ३० मेगावाटको लिखुखोला जलविद्युत् आयोजना, ८.५२ मेगावाटको चुले खोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। २९ मेगावाटको लिखु–ए जलविद्युत् आयोजना र ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.