|

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजेको टिप्पणी गरेका छन्।

आइतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरसंवादमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याएको बताए। उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए।

उनले यसको विरुद्धमा सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे। उनले यस्ता मुद्दामा सबै माओवादीहरू एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दामा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘मिल्न सक्नेहरू जति एक ठाउँमा आऊँ, एउटा पार्टी बनाऔँ। पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ। अहिले यत्रो आक्रमण भइरहेको छ। माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि। हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ किन सडकमा निस्किन सक्दैनौँ। यस्ता मुद्दामा कार्यगत एकता गरौँ। त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ। त्यसले परिवर्तन ल्याउँछ। हाम्रा शहीदको सपना पूरा गर्छ।’

पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानुपर्ने वेला आएको बताए। उनले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरी महसुस गरेर अघि बढ्नु नै देश र जनताका लागि कल्याणकारी हुने उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.