एकदिवसीय जोगाउन पनि जित आवश्यक

|

ललितपुर : आईसीसी विश्वकप लिग–२ सिरिज रोमाञ्चक मोडमा आइपुगेको छ। लिग–२ को उपाधि स्कटल्याण्डले जितिसक्दा र उपविजेता ओमान भइसक्दा तेस्रो हुने टोलीको टुंगो लागिसकेको छैन। तेस्रो हुने होडमा नामिबिया, यूएई र नेपाल छन्। 

तेस्रो स्थान हासिल गर्ने टोलीले आगामी जुनमा जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटमा सोझै खेल्न पाउनेछ। ३६ खेलमा ३९ अंकसहित नामिबिया हाल तालिकाको तेस्रो स्थानमा रहँदा ३१ खेल खेलेको यूएई ३१ अंकसहित पाँचौँ र समान खेल खेलेको नेपाल ३० अंकसहित छैटौँ स्थानमा छन्। हाल अमेरिका ३५ अंकसहित चौथो स्थानमा रहे पनि ५–५ खेल खेल्न बाँकी रहेका यूएई र नेपालले उसलाई टप्ने सम्भावना अधिक छ। 

यूएई र नेपाल अघि बढ्न एक आपसमा जित निकालेर मात्र पुग्दैन पपुवा न्युगिनीको चुनौती पनि निस्तेज पार्नुपर्ने देखिएको छ। यूएईकै घरेलु मैदानमा भएका पछिल्लो २ म्याचमा पपुवा न्यु गिनीसँग हार्नुले नेपालको सम्भावना बलियो बनेको छ। यद्यपि सबै खेल जित्नुपर्ने दबाबमा रहेका बेला अलिकति चिप्लिए पनि नतिजा तलमाथि हुनेतर्फ चिन्तित हुनुपर्ने देखिएको छ। 

नेपालले सोमबार उसैको घरेलु मैदानमा यूएईसँग म्याच खेल्दैछ। यूएईको भ्रमणमा यो नेपालको अन्तिम खेल हो। अघिल्लो म्याचमा नेपाल युएइसँग पराजित भएको थियो। यही भ्रमणमा पीएनजीविरुद्ध दुवै खेल जितेको नेपालले यसपछि बाँकी चार खेल नेपालकै घरेलु मैदानमा खेल्नेछ, जसमा पनि यही दुई टिम बाँकी छन्। 

विश्वकप लिग–२ को शीर्ष तीन टोलीले आगामी जुन महिनामा जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन्। स्कटल्याण्डले पूरै ३६ खेलमा ५० अंक बटुलेर विश्वकप लिग–२को च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा स्थान बनाइसकेको छ भने लिग–२ को उपविजेता ओमानले  ३६ खेलमा ४४ अंक बनाएर जिम्बाबेमा हुने विश्वकप छनोटमा आफ्नो नाम दर्ता गरिसकेको छ। शीर्ष तीनमा पर्न नेपाल, नामिबिया र युएईको प्रतिस्पर्धा छ। यद्यपि नामिबियाले सबै ३६ खेल सकेर ३९ अंक बनाउँदा पनि तेस्रो स्थान पक्का रहेको छैन। 

नामिबियासँगै लिग–२मा पाँच खेल बाँकी रहेको नेपाल र ६ खेल बाँकी रहेको यूएईमध्ये एक टोली शीर्ष ३ मा रहेर विश्वकप छनोट सोझै खेल्न पाउनेछन्। यस्तोमा नेपाल छनोट हुन उसले सबै ५ वटै खेल जित्नुपर्नेछ भने यूएईले कम्तीमा तीन खेल हार्नु पर्नेछ। यूएई नेपालसँग तीन खेलमा हार र बाँकी सबै खेलमा जित निकाल्दा ३७ अंकमा मात्रै पुग्न सक्छ।

नेपाल र यूएईबीच अझै तीन खेल हुन बाँकी छ, जसमा नेपालले यूएईलाई हराएको खण्डमा पनि नेपालको सम्भावना बलियो हुनेछ। यदि नेपाल एक खेलमा पराजित भएमा र यूएई पनि नेपाल या पपुवा न्यु गिनीसँग गरेर ३ म्याच हारेमा नामिबिया तेस्रो हुँदै विश्वकप छनोटमा प्रवेश गर्नेछ। हाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंक बनाएको नेपाल छैटौँ स्थानमा छ। नेपालले अव यूएईसँग तीन र पपुवा न्युगिनीसँग दुई खेल खेल्न बाँकी छ। 

पाँच खेलमा शत प्रतिशत नतिजा निकाल्दा नेपालको ४० अंक हुनेछ भने ६ खेलमा सबै खेल जित्दा युएईको ४३ अंक हुने देखिएको छ। तसर्थ शीर्ष ३ भित्र रहेर विश्वकप छनौटमा स्थान बनाउन नेपालले सबै खेल जितेर युएईले भने ३ खेल हार्नुपर्ने देखिन्छ। यदि नेपालले १ र यूएईले २ खेल हारेको खण्डमा नामिबिया तेस्रो हुँदै विश्वकप छनोटमा पुग्नेछ। १३ देश रहेको सुपर लिगबाट शीर्ष सात टोली विश्वकपका लागि छनोट हुनेछन्। यसपाली भारत आयोजकका हिसाबले छनोट हुँदा अहिलेसम्म इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान छनोट भइसक्दा अर्को एक देशको टुङ्गो लाग्न बाँकी छ, जसमा वेष्टइण्डिज , दक्षिण अफ्रिका, श्रीलंका र आयरल्याण्डमध्ये एक टोली विश्वकपमा छानिने छन्। यी चारमा तीन टोली भने विश्वकप छनोट खेल्न जिम्बावे जाने छन्।

यसअघि नै सुपर लिगको पुछारमा रहँदै जिम्बावे, र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्नुपर्ने भएको छ। सुपर लिगका पुछारका ५ , लिग–२ का शीर्ष तीन र क्वालिफायर प्ले अफका शीर्ष दुई गरी १० राष्ट्रले जिम्बावेमा विश्वकप छनोट खेल्नेछन्। यसबाट दुई देश भारतमा हुने विश्वकपका लागि छनोट हुने छन्। 

वान डे बचाउन  ३ खेल जित्नुपर्ने नेपालले खेल्न बाँकी पाँचमध्ये तीन खेल जिते पनि एकदिवसीय मान्यता जोगिने भएको छ। यूएईको त्रिकोणात्मक सिरिजपछि नेपालमा चार म्याच हुने भएकाले तीन खेल जित्न नेपाललाई त्यति कठिन नहुने देखिएको छ।

शीर्ष पाँचमा परे एकदिवसीय मान्यता जोगिनेछ। लिग–२मा नेपालले अमेरिकालाई पछि पार्न अब तीन खेल जित्नुपर्ने छ। अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ। अहिले ३० अंक जोडेको नेपालले तीन खेल जित्दा ३६ अंक पुग्नेछ। 

शीर्ष तीन भित्र नपरे विश्वकप छनोटमा स्थान बनाउने अर्को मौका 
विश्वकप च्यालेन्ज लिगको समूह ए बाट क्यानडा र समूह बि बाट जर्सि शिर्ष स्थानमा रहँदै विश्वकप क्वालिफायर प्ले अफमा स्थान बनाएका छन्। यी २ देशले विश्वकप लिग–२मा चौथोदेखि सातौँसम्म हुने थप ४ देशसँग यही प्ले अफमा प्रतिस्पर्धा गर्नेछन्। यहीबाट शीर्ष २ मा पर्ने टोलीले पनि जिम्बाबेमा हुने विश्वकप छनौटमा स्थान बनाउने मौका पाउनेछ। यदि जारी लिग–२ मा नेपाल शीर्ष ३ भित्र पर्न सकेन भने पनि नेपालका सामु यही विश्वकप छनोटको प्लेअफ मार्फत विश्वकप छनोटमा पुग्ने अर्को मौका पनि हुनसक्छ। २४ मार्चदेखी ५ अप्रिलसम्म नामिबियामा हुने विश्वकप छनोट प्लेअफमा अहिलेसम्म लिग–२बाट पपुवा न्युगिनी र अमेरिकाले खेल्ने पक्का भइसकेको छ। यसमा नामिबिया, यूएई र नेपालमध्ये २ टिम पनि प्ले अफमा पुग्ने छन्।

लिग–२का बाँकी खेल 

विश्वकप लिग–२ अन्तर्गत यूएईको भ्रमणका क्रममा नेपालले सोमबार घरेलु टोलीसँग अन्तिम म्याच खेल्दैछ। यसपछि नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेलेर लिग–२ सकाउने छ। लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनीसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिव मैदानमा नेपालले मार्च ९ मा पपुवा न्युगिनीसँग पहिलो खेल  खेल्नेछ।

यस्तै मार्च १२ मा यूएईसँग दोस्रो र मार्च १३ मा पपुवा न्युगिनीसँग नेपालले तेस्रो खेल खेल्नेछ।  अन्तिम म्याच आगामी मार्च १६ तारिखमा यूएईसँग खेलेर यो संस्करणको लिग–२ लाई बिट मार्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.