|

ललितपुर : राजधानीमा शहीद स्मारक ए डिभिजन राष्ट्रिय लिग चलिरहँदा घरेलु फुटबलका अर्का स्टार खेलाडी सुनिल बल पनि विदेशिएका छन्।

नेपाली राष्ट्रिय टिमका एक महत्वपूर्ण खेलाडी सुनिल अष्ट्रेलिया प्रस्थान गरेका हुन्। फुटबलमा केही वर्ष बिताए पनि उनी सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया गएका छन्।

यसै सिजनमा संकटामा अनुबन्धित भएका उनले जारी लिगमा पहिलो खेलमात्र खेल्न भ्याए। सो खेलमा संकटाले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेल्यो।

घरेलु फुटबलका प्रभावशाली र अनुभवी मिडफिल्डरका रुपमा परिचित सुनिललाई संकटाले कप्तान नियुक्त गर्दै नयाँ सिजनका लागि टिम तयार गरेको थियो।

उनी तत्काल विदेश गए पनि लिगका केही खेलमा सहभागी हुन फेरि आउने क्लबका अध्यक्ष इन्द्रमान तुलाधर बताउँछन्। यसअघि पनि केही नेपाली फुटबल खेलाडी सुरक्षित भविष्यको खोजीमा विदेश गइसकेका छन्।

घरेलु फुटबल नियमित रुपमा नहुनु, फुटबलभित्रको फोहोरी राजनीति, पारिश्रमिक र वर्षभरि फुटबलमा संलग्न हुन नपाउँदा नेपाली फुटबलरहरु धमाधम विदेश जान थालेका छन्।  स्रोतका अनुसार अझै केही खेलाडी विदेश जाने तयारीमा छन्।

हेटौंडाका सुनिल एन्फा एकेडेमीका उत्पादन हुन्। उनले घरेलु फुटबलका अधिकांश ठूला क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।

सुनिल गत वर्षको लिगमा सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए। मछिन्द्रले लगातार दोस्रो पटक लिग उपाधि जित्दा सुनिलको प्रदर्शन महत्वपूर्ण रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.