|

काठमाडौं : चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ। 

म‌ंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपैयाँको खाद्यान्न आयात भएको हो। अघिल्लो वर्ष यो अवधिमा ५० अर्ब ५३ करोड २२ लाख २३ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो।

यो वर्ष धानको उत्पादनमा सामान्य वृद्धिसँगै आयातमा लगाइएका प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी भएको हो। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र आयातमा एलसी (प्रतीतपत्र) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण खाद्यान्न आयातमा कमी भएको व्यवसायीको भनाइ छ। त्यसैगरी भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध र धान चामल निर्यातमा भन्सार शुल्क बढाएका कारण खाद्यान्न आयातमा कमी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। भारतले गत भदौ/असोजमा धान र चामल निर्यातमा २० प्रतिशतसम्म भन्सार शुल्क लगाएको थियो। 

विभागको तथ्याङ्कअनुसार चालू आवको सात महिनाको अवधिमा १० अर्ब ६६ करोड ८० लाख सात हजार रुपैयाँको चामल आयात भएको छ। अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब ९२ करोड ४३ लाख ५५ हजार रुपैयाँको चामल आयात भएको थियो। यस्तै सात महिनामा १० अर्ब ४० करोड ११ लाख रुपैयाँको मकै आयात भएको छ। अघिल्लो वर्ष सो अवधिमा १३ अर्ब ४४ करोड ३६ लाख एक हजार रुपैयाँको मकै आयात भएको थियो। 

यो वर्ष धान आयात भने सामान्य बढेको छ। सात महिनामा १३ अर्ब ४७ करोड ८४ लाख रुपैयाँ बराबरको धान आयात भएको छ। गत वर्ष १२ अर्ब ४६ करोड ३४ लाख ११ हजार रुपैयाँको आयात भएको थियो। सात महिनामा १० करोड १८ लाख ८५ हजार रुपैयाँको गहुँआयात भएको छ। गत वर्ष सो अवधिमा चार अर्ब ६४ करोड ६१ लाख ८८ हजार रुपैयाँको गहुँ आयात भएको थियो। रुस र युक्रेन युद्धको कारण देखाउँदै भारतले गहुँको निर्यातमा कडाइ गरेसँगै आयातमा उल्लेख्य कमी भएको हो। भारत सरकारले गत जेठ महिनादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो।

मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.