|

काठमाडौं : युगौँसम्मका लागि भनेर माइक्रोफिल्ममा सुरक्षित राखिएका ऐतिहासिक ग्रन्थ तथा लिखत बिग्रिन थालेका छन्। 

राष्ट्रिय अभिलेखालयमा दुई लाखभन्दा बढी प्राचीन ग्रन्थ तथा लिखतका पोजेटिभ र नेगेटिभ गरी १८ हजार माइक्रो फिल्म छन्। तीमध्ये दुई सयवटा रिल पूर्ण रूपमा बिग्रिएका छन् भने करिब छ सय रिलमा समस्या देखिएको छ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तापक्रम नमिल्दा वा रिलको गुणस्तरका कारण बिग्रिन थालेको हुनसक्ने बताए। ‘विगतमा बत्ती गएका वेला तापक्रम कायम राख्ने प्रविधि थिएन। पहिलेका एसिडयुक्त रिलका कारण पनि समस्या उत्पन्न भएको हुनसक्छ’, उनले भने।

माइक्रोफिल्मलाई २४सै घण्टा १८ देखि २१ डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्ने हुन्छ। हाल ‘ब्याकअप’का कारण बत्ती गए पनि तापक्रम र आर्द्तामा तलमाथि हुँदैन। रिलमा समस्या देखिएको दुई वर्षभित्र रिल कामै नलाग्ने गरी बिग्रिने समस्या देखिएको छ। महानिर्देशक प्रधानाङ्गका अनुसार समस्या आएका रिलको गन्ध निकै अमिलो खालको हुन्छ। त्यसको गन्धले आँखा पिरो हुनुका साथै माइक्रोफिल्म राखिएको कोठामा प्रवेश गर्दा निसास्सिने अवस्था रहन्छ। भिनेगर जस्तो गन्धका कारण यस समस्यालाई ‘भिनेगर सिन्ड्रोम’ नामकरण गरिएको छ।

नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाअन्तर्गत सन् १९७० बाट नेपालभरि रहेका ग्रन्थ तथा लिखत संकलन गरी माइक्रोफिल्ममा राख्न थालिएको हो। सुरुमा एसिडयुक्त रिलमा राख्ने गरिएकोमा सन् १९९५ देखि पोलिस्टरयुक्त रिलमा राख्ने गरियो। एसिडयुक्त रिलमा अम्लियपन उत्पन्न भई त्यसबाट रिलमा छापिएका सामग्री मेटिनेदेखि रिल नै पग्लिएर डल्लो पर्ने समस्या सिर्जना हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.