|

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा राष्ट्रपतिले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

कमर्शको टोलीले राष्ट्रपति पौडेललाई बधाई दिन राष्ट्रपतिनिवास पुगेको थियो। उक्त टोलीमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारी थिए। जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन। सरकारले पूर्णता पाएलगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु।’

वर्तमान संकट समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिए। मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने राष्ट्रपतिको कथन छ।

चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रदर्शन हुनेमा आफूहरू विश्वस्त रहेको बताए। मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन। पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ।’

पुँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको मल्लले बताए। आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्नेमा मल्लले जोड दिए।

उनीहरू कर्जा प्रवाह गर्दा ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने उनीहरूको माग थियो। लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरू मर्कामा नपर्ने चेम्बरको ठहर छ।

मल्लले बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यन्त्रीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने सुझाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.