काठमाडौँ : विभागीय टोली एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले बिहीवार शुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी शुरुवात गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा नेपाल एपिएफ क्लबले मधेश प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो।
मधेश प्रदेशले दिएको ५९ रनको लक्ष्य एपिएफले ७ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गरेको हो। अविजित पारी खेल्ने क्रममा एपिएफका लागि कप्तान सीता राना मगरले ४५ र ज्योति पाण्डेले ८ रन बटुल्दै साथ दिइन्। सीताले ३६ बलको सामना गर्दा ९ चौका प्रहार गरेकी थिइन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश १९.४ ओभर समेटियो।
एपिएफको कसिलो बलिङ सामु निरीह बनेको मधेशका लागि साना प्रविनले सर्वाधिक २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन्। एपिएफका लागि सोनु खड्काले ४ र सीता रानाले ३ विकेट लिए।
प्रतियोगिताअन्तर्गत बिहीवार नै उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई ५१ रनले पराजित गर्यो। सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेलेपछि सुदूरपश्चिमले दिएको १३८ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८६ रन बनायो।
कसिलो बलिङसामु खुलेर खेल्न नसकेको ललितपुरका लागि लक्ष्मी चौधरीले सर्वाधिक २५ तथा हेलिसा गुरुङले १९ रन बनाए पनि जितका लागि पर्याप्त भएन।
यस्तै कञ्चन श्रेष्ठले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। सुदूरपश्चिमका लागि रीतु कनौजियाले २ विकेट लिइन् भने पाँच खेलाडी रन आउट भएका थिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै २० ओभरमा ३ विकेट गुमाएर १३७ योगफल बनाएको थियो। सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले। ४५ बलको सामना गरेकी सम्झनाले ६ चौका हिर्काएकी थिइन्।
उनका साथै कविता जोशीले अविजित २७ रनको पारी खेल्दा रुवि पोद्दारले २८ रन, कप्तान विन्दु रावलले १८ रन तथा रेवती धामी शून्य रनमा पवेलियन फर्किएकी थिइन्। ललितपुरकी कृत्तिका मरासिनीले २ तथा सोनी पाख्रिनले १ विकेट लिए।
गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा स्थान बनाएका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर्स ११ ले जारी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ। प्रतियोगितामा शुक्रवार पनि दुई खेल हुनेछन्।
दिनको पहिलो खेल ९ बजे सुदूरपश्चिम र एपिएफ क्लब तथा १ बजे कोशी र ललितपुर मेयर्स–११ बीच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।