प्रचण्डको विपक्षमा मतदान गर्ने

|

काठमाडौं : हार्ने निश्चित भएपछि नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेकाे छ। नेकपा एमालेकाे मंगलबार बसेकाे स्थायी कमिटी बैठकले उम्मेदवारी नदिने तर प्रधानमन्त्रीका उम्मेदवार माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे विपक्षमा मतदान गर्ने निर्णय गरेको हाे। 

कांग्रेसकाे समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको उमेदवार बन्ने निश्चित भएपछि एमालेका तर्फबाट उपाध्यक्ष बामदेव गौतम वा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङमध्ये कुनै एक प्रधानमन्त्रीको उमेदवार बन्ने चर्चा थियाे। 

यसअघि एमालेका केही नेताहरुले हार्ने निश्चित भएपनि प्रधानमन्त्रीको मैदान खाली नराख्ने बताउदै आएका थिए। तर अन्तिम समयमा प्रधानमन्त्रीको मैदान खाली गरी प्रधानमन्त्रीका एक्ला उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेकाे छ। उम्मेदवार को बन्ने भन्ने विषयमा विवाद भएर एमाले प्रधानमन्त्री निर्वाचनमा सहभागी नभएको भन्ने चर्चा भएपनि एमाले नेताहरुले त्यसलार्इ अस्वीकार गरेका छन्। 

एमाले महासचिव ईश्वर पोखरेलले उम्मेदवारी कसलार्इ बनाउने भन्ने विषयमा बैठकमा छलफल नै नभएको बताए। 'विवाद भएर प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय भएको भन्नेमा फिटिक्कै सत्यता छैन' उनले भने, 'उम्मेदवारी दिन उचित हुन्छ कि हुँदैन भन्ने विषयमा बैठकमा छलफल भयो, तर यतिबेला उम्मेदवारी दिने भन्दा पनि हामीले हाम्रो कुरा राख्ने र विपक्षीमा मतदान गर्ने भन्ने निर्णय भयाे। यो भन्दा बाहेक अरु विषयमा कुनैपनि चर्चा र छलफल भएन।'

बैठकपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपालको राष्ट्रिय राजनीतिको आवश्यकता, सहमतिका सम्भावनाका साथै राजनीतिक दलहरुसँग भविष्यमा गर्नुपर्ने सहकार्यलाई ध्यान दिँदै जिम्मेवार राजनीतिक संस्कार देखाउन उम्मेदवारी नदिने निर्णय गरेको बताए। 'उम्मेदवारी दिएपनि नदिएपनि नेकपा एमाले प्रतिपक्षमा बस्ने निश्चित नै थियाे त्यसैले नेकपा एमालेले जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गर्न प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेको हो'थाहाखबरसँग भट्टराईले भने। 

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि उमेदवारीको विषयमा कुनैपनि विवाद नभएको दाबी गरे। 'संसद नियमावलीको व्यवस्थाअनुसार प्रतिपक्षमा भोट हाल्न पाउने व्यवस्थाअनुसार प्रतिपक्षमा भोट हाल्ने बाटोबाटै जाऔं भनेर प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने र विपक्षमा मतदान गर्ने निर्णय भएको हो' उनले भने। 

यसैगरी एमालेले प्रधानमन्त्री निर्वाचनमा एमाले सांसद र अन्य राजनीतिक दललार्इ प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डका विरुद्वमा मतदान गर्न आग्रह गरेको छ। २०७४ माघ अगाडि नै निर्वाचन नगर्ने षड्यन्त्र देखिएको भन्दै त्यस्ता षड्यन्त्रको खबरदारी गर्दै २०७४ माघ अघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा एमालेले जोड दिएको छ। 

'राष्ट्रिय एकता, सामाजिक सद्भाव, मुलुकको स्वतन्त्रता, सार्वभौमिकतालाई खलल पुग्नेगरी संविधानमा संशोधन गर्न ल्याइने कुनैपनि प्रस्ताव एमालेले स्वीकार गर्दैन। अन्यथा मुलुकको राष्ट्रिय हितलाई ध्यान दिँदै उत्पन्न भएका समस्यालाई सहमतिको आधारमा समाधान गर्ने सन्दर्भमा आउने अन्य प्रस्तावहरुमा एमाले लचिलो भएर प्रस्तुत हुनेछ' सचिव भट्टराईले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ, 'मुलुकमा संवैधानिक र लोकतान्त्रिक प्रक्रियाहरु अवरुद्ध हुने राजनीतिक रिक्तता उत्पन्न गर्न खोज्ने कुनैपनि षड्यन्त्रको देशव्यापी भण्डाफोर गर्छौ साथै यसप्रति सजग रहन सम्पुर्ण राजनितिक दल र आम जनसमुदायलाई अपिल गर्दछौं।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.