बोर्डका अध्यक्ष शर्माको दाबी : प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयो

|

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भएको पहिलो दिनमै प्रश्नपत्र बाहिरिएको छ। उक्त प्रश्नपत्र अहिले सामाजिक सञ्जालमा भाइरल छ।

बाराको आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो।​

गाउँपालिका प्रशासनका शाखा अधिकृत सुनिल थापाका अनुसार परीक्षा शुरु भएको १५ मिनेटमै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको पाइएपछि अनुसन्धान शुरु भएको छ। उनले प्रश्नपत्र आउट गर्ने छात्रको परीक्षासमेत रद्द गरेको जानकारी दिए।

‘प्रश्नपत्र बाहिरिएपछि स्थानीय तह लगायत सम्बन्धित निकायका पदाधिकारी गएर विद्यालयमै बुझेका छौँ। कसरी आउट भयो भन्नेबारे अनुसन्धान गर्दै छौँ’‚ उनले थाहाखबरसँग भने। भोलिका दिनका परीक्षामा यस्तो नहोस् भनी थप सुरक्षा व्यवस्था कडा बनाइएको उनको भनाइ छ।

यसैगरी धनुषाको औरही गाउँपालिकास्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि झन्डै एक घण्टा ढिलो एसइई परीक्षा शुरु भयो। जिल्ला शिक्षा समन्वय एकाइ धनुषाका अनुसार अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी परीक्षा शुरु गरिएको थियो। आज (शुक्रबार) बिहान ८ बजे शुरु हुने परीक्षा ८ः५० मा शुरु भएको थियो। 

केन्द्राध्यक्ष र गार्ड बसेका शिक्षकहरूको लापरबाहीले कतै सामाजिक सञ्जालमार्फत परीक्षार्थीले नै प्रश्नपत्र आउट गरेको त केहीमा अर्को विषयको प्रश्नपत्र पुर्‍याइएकाे भन्दै यतिखेर आलोचना भइरहेको छ।

आज (शुक्रबार)देखि देशभर एसइई परीक्षा सञ्चालन भएको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसइई परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएका छन्।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष , निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका छन्। तैपनि यसरी प्रश्नपत्र बाहिरिएको पाइएपछि परीक्षा सञ्चालन तथा सुरक्षा व्यवस्थापनमा प्रश्न उठेको छ। 

यसअघि पनि एसइई परीक्षा सञ्चालन भइरहेको वेला यसैगरी प्रश्नपत्र आउट भएको थियो। २०७५ सालमा सप्तरीमा सञ्चालित एसइई परीक्षा केन्द्रबाट परीक्षा शुरु हुनुअगावै विज्ञान विषयको प्रश्नपत्र फेसबुकमा बाहिरिएको थियो।

जसकारण सरकारको गैरजिम्मेवारीपन भएको भन्दै विभिन्न राजनीतिक दल निकट ३ विद्यार्थी संगठनले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा समेत माग गरेका थिए। यो वर्ष पनि पुन: यस्ता घटना दाेहाेरिएकाे छ।  

बोर्डका अध्यक्ष शर्माको दाबी :अपवाह फैलाइयो, शान्तिपूर्ण रूपले परीक्षा भइरहेको छ

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले भने प्रश्नपत्र बाहिर आउट भयो भनेर बाहिर अफवाह फैलाइएको दाबी गरे। उनले अहिलेसम्म त्यस्तै कुनै अप्रिय घटना नभएको बताए। ‘बाहिर अफवाह फैलाइयो। यो गलत कुरा हो। हामीले बिहान ७ बजेदेखि १० बजेसम्म बसेर सबै ठाउँको जानकारी लिइरहेका छौँ। हामीलाई त्यस्तो केही जानकारी आएको छैन,शान्तिपूर्ण राम्रो ढंगले परीक्षा सञ्चालन भइरहेको छ’‚ उनले थाहाखबरसँग भने।

उनले बाराको विषयमा मोबाइल परीक्षा हलमा लान खोजिएको र तुरुन्तै खोसिएको बताए। ‘बारामा चाहिँ प्रश्नपत्र आउट गर्नका लागि एकजना विद्यार्थीले मोबाइल लगेर परीक्षा हलमा जान लागेको पाइयो र शुरुमै खोसियो। अरू केही भएन भन्ने कुरा आएको छ’‚ उनले भने।

यसैगरी उनले धनुषाको विषयमा प्राविधिक कारण प्रश्नपत्र अर्कै विषयको परेको बताए। ‘कपडाको एउटा प्याकेटको बाहिर खाममा एउटा विषय लेखेको भित्र चाहिँ अर्कै विषयको प्रश्न रहेकाले फेरि अर्को ल्याउँदा ढिला भएको हो’, उनले भने,‘अरू त्यस्तो होइन, समय थपेर पनि परीक्षा भइसक्यो। यसबाट कुनै अप्ठ्यारो भएको जानकारी छैन।’

एसइई परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न/गराउन बोर्ड, स्थानीय तह र अन्य निकाय प्रतिबद्ध लागिपरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.