|

काठमाडौं : वैशाख १० गते तीन जिल्लाका तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन गर्न लागेको हो।

यसपटकको उपनिर्वाचनमा मंसिर ४ गतेको निर्वाचनमा पराजित उम्मेदवारहरू नै मैदानमा उत्रिने तरखरमा छन्। जनताले पाँच वर्षका लागि संसद बाहिर रहने म्याण्डेट दिएर हराएकाहरू फेरि निर्वाचन क्षेत्र परिवर्तन गरेर संसद छिर्ने दाउमा छन्। 

केही नेता उपनिर्वाचनका लागि टिकट हात पार्न दल नै परिवर्तन गरिरहेका छन् भने कोही निर्वाचन क्षेत्र परिवर्तन गरेर लागिरहेका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव, पूर्वआईजीपी सर्वेन्द्र खनाल,पूर्वडिआईजी रमेश खरेल, लोसपा नेता राजेन्द्र महतो मंसिर ४ को चुनाव हारे पनि उपनिर्वाचनमा उम्मेदवार बन्दैछन्।  पाँच वर्ष संसदबाहिरै बस्ने जनादेश विपरित पाँच महिना पनि नबित्दै फेरि तिनै उम्मेदवार उठ्ने चर्चाले उपनिर्वाचन पेचिलो बन्ने देखिन्छ। 

तनहुँ–१ मा 'हेविवेट' भीडन्त

तनहुँ–१ मा नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै रिक्त रहेको उक्त स्थानमा त्रिपक्षीय भिडन्त हुँदैछ। यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तिव्र प्रतिष्पर्धा हुँदैछ। कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। भट्टराई पहिलो पटक संसद छिर्ने दाउमा छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउँदैछ। उनले रास्वपाबाट टिकट पाउने पक्का भएपछि नेपाली कांग्रेस परित्याग गरेका थिए। नेकपा एमालेले उम्मेदवारको नाम टुंगो लगाएको छैन। तर, जिल्ला कमिटीले पूर्वआईजीपी सर्वोन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको छ। 

एमाले तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीको बैठकले उपनिर्वाचनका लागि पूर्वआईजीपी खनालसहित नेताहरू रामबहादुर गुरूङ, किरण धिताल, मोहन विक, सोझा गुरूङ र परितोश पौडेलको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।

तर, खनालको सम्भावना उच्च रहेको छ। खनाल तिनै पात्र हुन् जो मंसिर ४ गतेको निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका थिए।

उनी रास्वपाका शिशिर खनालसँग फराकिलो मतान्तरले पराजित भएका हुन्। शिशिर १४ हजार २०४ मतसहित विजयी हुँदा सर्वेन्द्रले ८ हजार ९११ मत मात्रै पाएका थिए। जनताले पाँच वर्षका लागि संसद बाहिर बस्ने सन्देश दिए पनि उनको संसद छिर्ने भोक भने अझै मेटिएको छैन। उनी काठमाडौंमा पराजित भए पनि गृहजिल्ला तर्फ सोझिएका हुन्। 

खनालले तनहुँ १ का जनताले आफूलाई रोजेकाले उपनिर्वाचनमा उठ्ने तयारी गरेको बताए। 

तपाईंको संसद छिर्ने भोक अझै मेटिएन है? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मलाई यहाँका जनताले रोज्नुभएको हो। अहिले नै निर्वाचनमा जुटिसकेको छैन। पार्टीले भोलि टिकटबारे निर्णय गर्ला त्यसपछि सक्रिय भएर लाग्छु।’

तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेल फराकिलो मतान्तरले विजयी भएका थिए। उनले २५ हजार ३१३ मत पाउँदा एमालेका एकबहादुर रानामगरले १९ हजार ९२५ मत पाएका थिए। चौथोमा रास्वपा थियो। रास्वपाका विकास सिग्देलले ६ हजार ३२ भोट ल्याएका थिए। यसपटक राना चुनावी रेसबाट पछि हटेका छन्। उनले युवालाई स्थान दिन आफू पछि हटेको बताउने गरेका छन्।

चितवन–२ बाट दोहोरिने रविको अपेक्षा

चितवन–२ को उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछाने दोस्रो पटक मैदानमा छन्। मंसिर  ४ गते सोही क्षेत्रबाट विजयी भएका लामिछाने दोस्रो पटक पनि होमिँदैछन्।

गत माघ १३ गते सर्वोच्च अदालतले नेपाली नागरिकता नलिएको भन्दै सांसद पद खारेज गरिदिएको थियो। प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री पद पनि गुमाएका थिए। रिक्त रहेको उक्त स्थानमा लामिछानेले पुनः निर्वाचन लड्ने घोषणा गरेर प्रचारप्रसारमा होमिसकेका छन्। उनीसँग नेकपा एमाले र नेपाली कांग्रेसका दुई जना युवा उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन्। 

कांग्रेसबाट पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने रविविरूद्ध उत्रिएका छन्। न्यौपानेको नाम जिल्ला कमिटीले एकल सिफारिस गरेको छ। तर केन्द्रले निर्णय गर्न बाँकी छ।

रविले यसअघि कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। तर, यसपटक लामिछानेविरूद्ध दुवै दलले स्थानीय युवा उम्मेदवारलाई उठाएका छन्। 

चितवनमा अन्य दलहरूका लागि लामिछाने ‘हेविवेट’ उम्मेदवारका रूपमा रहेका छन्। 

अघिल्लो पटक लामिछानेले भारी मतान्तरले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका थिए। उनले ४९ हजार २६१ मत पाउँदा कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्र पाएका थिए। 

बारामा ‘हरूवा’हरूको भीडन्त

बारा–२ मा चार दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी र रास्वपाबीच प्रतिस्पर्धा हुन लागेको हो। जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै बारा–२ मा चार दलका ‘पराजित’ उम्मेदवारहरूको भिडन्त हुन लागेको हो। 

यस क्षेत्रमा एमालेले उम्मेदवार बनाएको छ। यस्तै जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ। अध्यक्ष यादव तिनै पात्र हुन जो मंसिर २ को निर्वाचनमा सप्तरी २ बाट जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए।

व्याग्र सत्ताको भोकले छटपटिएका यादव जसरी पनि संसद छिर्ने दाउमा छन्। यादवविरुद्ध जनमतले अघिल्लो पटक पराजित माओवादी उम्मेदवार शिवचन्द्र कुशवाहलाई मैदानमा उतारेको छ। 

कुशवाहा हालै जनमत पार्टीमा प्रवेश गरिसकेका छन्।  कुशवाह पनि मंसिर ४ मा उपराष्ट्रपतिमा निर्वाचित यादवसँग पराजित भएका थिए। एमालेको समर्थन पाएका रामसहायले झिनो मतान्तरले चुनाव जितेका थिए। उनले १३ हजार ८२३ मत पाउँदा माओवादीका कुशवाहले १३ हजार ४६८ मत पाएका थिए। कुशवाहलाई कांग्रेसले सघाएको थियो। 

यस्तै लोसपाका नेता राजेन्द्र महतो पनि सोही क्षेत्रबाट उपनिर्वाचनमा होमिँदैछन्। मंसिर चार गतेको निर्वाचनमा सर्लाही-२ मा नेपाल समाजवादी पार्टीका नेता एवं मन्त्री महिन्द्र राय यादवसँग पराजित भएका महतो पुनः संसद छिर्ने दाउमा छन्। 

पूर्वडिआईजी रमेश खरेलले दल नै परिवर्तन गरेर चुनाव लड्ने निर्णय गरे। नेपाल सुशासन पार्टी दर्ता गरेर मंसिर ४ को निर्वाचनमा काठमाडौं १ बाट चुनाव लडेका खरेलले २ हजार १३० मत मात्रै पाए। यसपटक रास्वपाले उनलाई बाराबाट उम्मेदवार बनाउँदैछ।

गत मंसिरको निर्वाचनमा बारा-२ बाट एक जना पनि उम्मेदवार खडा नगरेको रास्वपाले समानुपातिकमा पनि लोकप्रिय मत पाउन सकेको थिएन। 

सत्ताको भोक

राजनीतिक विश्लेषकहरूले नेताहरूको सत्ता तृप्तिलाई स्वभाविक रूपमा लिएका छन्।

विश्लेषक हरि रोका नेताहरूमा देखा परेको सत्ताप्रतिको भोकले अहिलोको अवस्था निम्त्याएको बताउँछन्। नेताहरूले आफ्नो सत्ता प्राप्तिका लागि निर्वाचन खर्चिलो बनाएर सर्वसाधारणमाथि सिन्डिकेट लगाएको उनले आरोप लगाए।

‘उनीहरूले देशको विकास भन्दा पनि सत्ताका लागि मरिमेटेका हुन्। पैसा, पावर उनीहरूसँगै छ। जो कोहीले चुनाव लड्न सक्दैनन्। अहिलेको परिणाम पनि त्यही नै हो,’ रोकाले थाहाखबरसँग भने।  

अर्का राजनीतिक विश्लेषक पुरूषोत्तम दाहाल ‘इगो’ का कारण नेताहरूमा अतृप्त चाहना देखा परेको बताउँछन्। नेताहरूले आफूले राम्रो काम गरे पनि नगरे पनि परीक्षण गर्ने प्रवृत्ति हावी भएको उनको भनाई छ। 

‘उहाँहरूको खेती आफूलाई परीक्षण गरिरहने देखिन्छ। निर्वाचनलाई उहाँहरूले नाफामुलक व्यवसाय बनाउनुभयो। जसरी हुन्छ सत्तामा जानै पर्ने चाहना उहाँहरूमा देखिन्छ,’ दाहालले भने। 

नेताहरूले तीन चार महिनाका बीचमा जनताका पक्षमा राम्रो काम गरें भन्ने भ्रम पालेको र टिकट दिने दलले पनि एउटै व्यक्तिलाई निरन्तर परीक्षण गरिरहने प्रवृत्ति बढेको दाहालले बताए। 

‘रवीजीले त्यत्रो भोट ल्याएको छु फेरि तिनै जनताको पक्षमा काम गर्छु भन्ने भयो होला, नागरिकता रद्द गरेको अदालतलाई जवाफ दिन्छु भन्ने इगो भयो होला। अन्य दलको हकमा पनि त्यस्तै विषय आउँछन्,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.