सरकार भन्छ : भर्ना उमेरका सबैलाई शिक्षाकाे पहुँच पुग्छ

|
फाइल तस्बिर

काठमाडौं : देशभर वैशाख १ गतेदेखि नयाँ भर्ना अभियान शुरु हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले यो अभियान दुई हप्ता अर्थात् वैशाख १४ गतेसम्म सञ्चालन हुने जानकारी दिए।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र कायम गरेको छ। शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ८४(१) बमोजिम शिक्षा मन्त्रालयको गत माघ ६ गतेको मन्त्रिस्तरीय बैठकले वैशाख १ गते शुरु भई चैत मसान्तसम्म कायम गर्ने निर्णय गरेको थियो।

‘नयाँ भर्ना अभियान वैशाख १ गतेदेखि शुरु हुन्छ। यति गतेसम्म गर्ने भन्ने हुँदैन, सामान्यतया दुई हप्तासम्म भर्ना अभियान चलाउने चलन छ, चल्छ’, विकास केन्द्रका उपमहानिर्देशक अधिकारीले भने।

‘भर्ना उमेर समूहका सबै बालबालिकालाई भर्ना गराउँछौँ’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता समेत रहेका अधिकारीले विद्यालयमा भर्ना गर्ने उमेर पुगेका सबै बालबालिकालाई भर्ना गर्ने लक्ष्य सरकारको रहेको बताए।

उनले भने, ‘यो वर्ष यतिलाई भर्ना गर्ने भन्ने हुँदैन, भर्ना गर्न उमेर पुगेका बच्चा, शिक्षा पहुँचबाट बाहिर रहेका सबै बालबालिकालाई भर्ना गर्ने हो। सबैलाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्य छ।’

उनले नयाँ भर्ना अभियानका लागि नारा भोलि (सोमबार) तयार हुने जानकारी दिए। नारा तयार भएपछि स्थानीय तहलाई थप भर्ना अभियान अगाडि बढाउन निर्देशन दिइने उनले बताए।

‘यो नयाँ भर्नाका लागि भोलि नारा तयार  हुँदै छ। भोलि नै सम्भवतः शिक्षा मन्त्रालयको प्रतिक्रिया लिएर फाइनल हुन्छ’‚ उनले भने, ‘त्यसपछि विभिन्न वेबसाइटमार्फत भर्ना अभियान चलाउनु भनेर सम्बन्धित पालिकाहरू, शिक्षा समन्वय एकाइहरूलाई अनुरोध गर्छौ।’

उनले नारा बनिसकेपछि विकास केन्द्रले पनि भर्ना अभियानलाई सफल बनाउन प्रचारप्रसार गर्ने जानकार दिए।

जनक शिक्षाको दाबी : यो वर्ष समयमा पुस्तक पुग्छ

नयाँ शैक्षिक सत्र शुरु भएको महिनौँ बित्दा पनि नयाँ पुस्तक सम्बन्धित विद्यार्थीहरूले नपाउने समस्या वर्षेनि दोहोरिँदै आएको छ। यो वर्षको नयाँ शैक्षिक सत्रमा भने सबै ठाउँमा पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले दाबी गरे।

सरकारको स्वमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक झाले गत शुक्रबारदेखि छापिएका पुस्तकको विक्री वितरण पनि खुला भएको जानकारी दिए। उनले भने, ‘यो वर्ष समयमा पुस्तक पुग्छ। त्यसपछि पहिला नपुग्ने समस्याको ब्रेक हुन्छ।’ 

२०८० बाट लयमा फर्किदै शैक्षिक सत्र

आगामी वैशाखबाट नयाँ वर्ष शुरु भएसँगै कोभिड-१९ ले बिथोलिएको शैक्षिक सत्र पुन: लयमा फर्किने भएको छ। कोरोनाले २०७७ सालबाटै शैक्षिक सत्र बिथोलिएको थियो। २०७७ सालमा वैशाखबाट शुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएकाे थियो।

२०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनामै व्यवस्थापन गरियो। मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र असार १ गतेबाट शुरु भई चैत मसान्तमा सकाउने निर्णय गरेको थियो। यो समयसम्म कोर्स नसकेपछि सरोकारवालाहरूको सुझावअनुसार २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि शुरु गरिएकाे थियाे। 

अहिले सामुदायिक तथा निजी विद्यालयहरूले वार्षिक परीक्षा सञ्चालन गरेर पनि धमाधम नतिजा सार्वजनिक गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.