|

काठमाडौं : राजधानीमा भइरहेको शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक १० गोल भएको दिन मंगलबार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले खुमलटारमाथि ७–३ को फराकिलो अन्तरले खेल जितेको छ। 

ललितपुरस्थित च्यासल मैदानमा  मंगलबार भएको लिगको आठौं चरणअन्तर्गतको खेलमा मच्छिन्द्रलाई जित दिलाउन ओलावाले अफिजले ५ तथा विमल घर्तीमगर र विजय भुजेलले १/१ गोल गरे। खुमलटारका लिग मेसौको ओलोमोउले २ र स्टेफन विनोङले १ गोल फर्काउँदै अन्तर घटाएका थिए।

शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले अग्रता भने २५ औं मिनेटमा मात्र लिएको थियो। अफिज ओलावालेको गोलमार्फत मच्छिन्द्रले शुरुवाती अग्रता लिएको थियो। अफिजले खुमलटारका रक्षकले गुमाएको बललाई नियन्त्रणमा लिँदै गोल गर्न सफल भएका थिए।

त्यसको ४ मिनेटपछि अफिजले नै टोलीको अग्रता दोब्बर बनाए। अफिजले भुटानी ‘रोनाल्डो’ चेन्चो ग्याल्सेनको पासलाई खुमटारका रक्षक र गोलकिपरलाई बिट गर्दै सुन्दर गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा विमलले मच्छिन्द्रको अग्रता ३–० बनाए। ​

पुजन उपरकोटीले हेडमार्फत दिएको बललाई विमलले गोलमा परिणत गरेका थिए। ​चेन्चोको प्रहार खुमलटारका गोलकिपर देव लिम्बूले बचाउ गर्दा आएको रिबाउन्ड बललाई पुजनले हेडमार्फत विमललाई पास दिएका थिए।

एकतर्फी जस्तो देखिएको खेलको ५५ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दा मछिन्द्र ४–० ले अगाडि बढ्यो। विमलको प्रहारमा खुमलटारका रक्षक पदम भट्टराईले ह्याण्ड गरेपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको थियो। जसमा ओलावालेले सहजै गोल गरेर ह्याट्रिक पूरा गरे।

६१ औं मिनेटमा खुमलटारका ओलोमोउले गोल गर्दा खेल ४–१ को स्थितमा पुगेको थियो। ओलोमोउले विनोङको क्रसलाई नियन्त्रणमा लिँदै मच्छिन्द्रका रक्षकलाई बिट गरेर पेनाल्टी बक्सभित्रबाट गोल गर्न सफल भएका थिए।

६२ औं  मिनेटमा ओलावालेले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गर्दा ६७ औं मिनेटमा आन्द्रेस नियाको क्रसलाई नियन्त्रणमा लिँदै ओलावालेले व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरे।

७६ औं मिनेटमा मच्छिन्द्रका रक्षकले रेजिन सुब्बालाई फाउल गरेपछि खुमलटारले पेनाल्टीको अवसर पाएको थियो। विनोङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ६–२ को स्थितिमा ल्याए।

८१ औं मिनेटमा ओलोमोउले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ६–३ को स्थितिमा पुग्यो। ८६ औं मिनेटमा विजय भुजेलले गोल गर्दै मच्छिन्द्रको फराकिलो जित निश्चित गरे। यस जितसँगै मच्छिन्द्रले ८ खेलमा १२ अंक जोड्दा पराजय बेहोरेको खुमलटारको ८ खेलबाट ७ अंक भएको छ।

लिगअन्तर्गत मंगलबार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले जावलाखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो।

खेलको १६ औं मिनेटमा कप्तान जिलेस्पीजंग कार्कीको गोलबाट आर्मीले अग्रता लिएको थियो। सेसेहाङ आङदेम्बेको पासमा जिलेस्पीले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

खेलको ५४ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीले अग्रता दोब्बर बनायो। जावलाखेलका रक्षकले जगजित श्रेष्ठलाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो। जसमा नवयुगले सहजै गोल गर्न सफल भए।

६२ औं मिनेटमा जावलाखेलका सुनिल खड्काले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए पनि खेल सकिन १० मिनेट बाँकी रहँदा सुदिल राईले गोल गर्दै आर्मीको जित निश्चित गरे।

बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र अंक पाउनबाट वञ्चित बन्यो। यस नतिजासँगै आर्मीले ८ खेल खेल्दा १२ अंक जोडेको छ। पराजित जावलाखेलको ८ खेलबाट १४ अंक छ।

लिगमा बुधबार ३ खेल हुने छन्। पहिलो खेल एपिएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच च्यासल मैदानमा हुनेछ भने दोस्रो खेल न्युरोड टिम (एनआरटी) र संकटाबीच दशरथ रंगशालामा हुनेछ। तेस्रो खेल साँझ मनाङ मर्स्याङदी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच दशरथ रंगशलामा नै हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.