|

बझाङ : बझाङको साइपाल गाउँपालिका–३ काँडास्थित काँडा माध्यमिक विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ।

जस्तापाताले छाएको विद्यालयको छानो शनिबार आएको हावाहुरीले उडाएको हो। हावाहुरीले विद्यालयको दुईतले ४ कोठे भवनमा क्षति गरेको प्रधानाध्यापक रमेश बहादुर जेठाराले बताए।

वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको र नयाँ शैक्षिक सत्र सुरु हुने समयमा छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रधानाध्यापक जेठाराको भनाई छ।

विद्यालयले आइतबारदेखि भर्ना अभियान र १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने कार्यतालिका बनाएको भए पनि भवन मर्मत नभएसम्म पठनपाठन सञ्चालन गर्न कठिन हुने व्यवस्थापन समितिका अध्यक्ष गणेश बोहराले बताए।

२०७९ सालको भर्नाअनुसार करिब ३ सय विद्यार्थी पठनपाठन गर्ने उक्त स्कुलमा हावाहुरीले १२ लाख रूपैयाँ बराबरको क्षति गरेको अध्यक्ष बोहराको भनाई छ। हावाहुरीले स्कुलको भित्तासमेत चर्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.