|

काठमाडौं : स्वास्थ्य समस्या भएपछि यतिखेर राष्ट्रपति रामचन्द्र पौडेल दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत छन्।

यसअघि नियमित रूपमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति पौडेल बुधबार निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र अन्य सहयोगीका साथ एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एम्स अस्पताल पुगेका हुन्।

उनको गत १८ देखि २२ चैतसम्म शिक्षण अस्पतालमै भर्ना गरेर उपचार गरिएको थियो। एन्टीबायोटिक पूरा चलाउँदा समेत सुधार नभएपछि चिकित्सकहरूको सल्लाहमा उपचारका लागि विदेश गएको बताइएको छ। उपचारमा संलग्न मेडिकल टिमले उनलाई फोक्सोमा संक्रमण भएपछि एन्टीबायोटिक पूरा डोज चलाएको थियो।

गत सोमबार उनी फलोअपमा अस्पताल पुगेका थिए। फलोअपमा पनि उनको फोक्सो संक्रमणमा सुधार भएको थिएन। त्यसपछि फोक्सोको बाहिरी झिल्लीमा थुप्रिएको पानी निकाली परीक्षण गरिएको थियो। परीक्षणको नतिजाअनुसार चिकित्सकहरूको परामर्शमा राष्ट्रपति पौडेललाई एम्स लगिएको हो।

नेपालमा दक्ष चिकित्सक हुँदाहुँदै राष्ट्रपति पौडेल विदेश उपचार गर्न गएको भन्दै आलोचना भएको छ। यसै सन्दर्भमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पतालका) नेफ्रोलोजिस्ट डा. अनिल बरालले वीर अस्पतालमा दक्ष जनशक्ति हुँदाहुँदै राष्ट्रपति पौडेल उपचार गराउन विदेश गएको भन्दै प्रश्न गरेका छन्।

उनले भनेका छन्‚ ‘एम्सबाटै छाती रोग विषयमा डीएम उपाधि हासिल गरेका ३ जना वरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत छन्। स्रोत साधन पनि राम्रै छ। के कारणले विदेश लान परेको हो? देशले थाहा पाउनुपर्ने हैन र?  हामी त सधैँ कोही नहुनेलाई मात्र हेर्ने डाक्टर भइयो छ्या!’

नेपालमा दक्ष विशेषज्ञ चिकित्सक मात्रै होइन‚ विशिष्टका लागि सुविधासम्पन्न भीभीआईपी क्याबिन समेत छन्। नेपालकै जेठो र सुविधासम्पन्न वीर अस्पतालमा त विशिष्टलाई भनेर छुट्टै क्याबिन राखिएको छ तर उक्त क्याबिन वर्षौंदेखि प्रयोगविहीन बनेको छ।​

वर्षौंदेखि विशिष्ट व्यक्ति कुर्दै वीरको भीभीआईपी उपचार कक्ष

सरकारले विशिष्ट व्यक्ति (भीभीआईपी)हरूको उपचार खर्चका लागि वर्षेनि धेरै रुपैयाँ खर्चने गरेको छ। हाल राष्ट्रपति पौडेलले दिल्लीस्थित एम्समा उपचार गराइरहेका छन्। राष्ट्रप्रमुखको हिसाबले उनको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्नुपर्ने हुन्छ।

यसरी हेर्दा भीभीआईपीको उपचारका लागि स्वदेशमा होइन‚ विदेशमा त्यो रकम खर्च हुने गरेको छ। तिनै भीभीआईपीको उपचारका लागि भनेर वीर अस्पतालमा विशेष कक्ष छ तर उपयोगहीन छ।

वीर अस्पतालमा तत्कालीन समयमा राजपरिवारका सदस्यहरूले भीभीआईपी कक्षमा रहेर उपचार गराउँथे। देश २०६२।०६३ को जनआन्दोलनपछि गणतान्त्रिक बनेपछि भीभीआईपी उपचार कक्ष प्रयोगविहीन बनेको छ। पुराना चिकित्सकहरूका अनुसार तत्कालीन समयमा राजपरिवारका सबै सदस्य उक्त क्याबिनमा पुगेरै उपचार गराउँथे।

गणतन्त्र स्थापनायता भने कुनै भीभीआईपीले यो कक्षबाट उपचार सेवा लिएका छैनन्। अस्पतालका पूर्व निर्देशक प्रा.डा. स्वयंप्रकाश पण्डितका अनुसार २०६२।०६३ पछि प्रयोगविहीन भएको यो उपचार कक्ष २०७१ मा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनका वेला सञ्चालनमा ल्याउने प्रयास भएको थियो। त्यो वेला २७ लाख खर्च गरेर मर्मत पनि गरिए पनि प्रयोग हुन सकेन।

‘वीरको भीभीआईपी उपचार कक्ष धेरै सुविधासम्पन्न छ। उक्त क्याबिनमा विरामी र कुरुवा सुत्ने कोठा, विरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, प्रतीक्षा कक्ष र सुत्ने कोठा गरी आठवटा कोठा छन्। म निर्देशक हुँदा सार्क शिखर सम्मेलनका वेला केही मर्मत पनि गरिएको थियो तर प्रयोगमा ल्याउन सकिएन। अहिले पनि प्रयोगमा आएको मैले थाहा पाएको छैन’‚ डा. पण्डितले भने।

यस्तै वीर अस्पतालकी भीभीआईपी तथा भीआईपी उपचार कक्षकी इन्चार्ज सीता घिमिरेले पनि आफूले अहिलेसम्म भीभीआईपी उपचार कक्षमा उपचार गर्न कोही पनि आएको थाहा नपाएको बताइन्। ‘भीआईपी कक्षमा त वेलावेला उपचार गर्न आउनु हुन्छ तर भीभीआईपी कक्षमा भने हालसम्म आउनुभएको रेकर्ड छैन’‚ इन्चार्ज घिमिरेले भनिन्।

सरसफाइका लागि मात्रै खोलिन्छ भीभीआईपी उपचार कक्ष

वीर अस्पतालका अनुसार गणतन्त्रपछि दुई पूर्व राष्ट्रपति डा. रामवरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारी आक्कलझुक्कल वीर अस्पतालको बहिरंग सेवा लिन पुगेका थिए। विशेषगरी उनीहरू दाँतको उपचार गर्न वीर अस्पताल जाने गर्छन्। अधिकारीहरूका अनुसार नेपालमा दाँतको सबैभन्दा राम्रो उपचार वीर अस्पतालमा छ।

अति विशिष्ट कक्षमा भर्ना भएर उपचार गर्न भने कुनै पनि व्यक्ति पुगेका छैनन्। कोही पनि भीभीआईपी उपचारका लागि नजाने भए पनि एक/एक हप्तामा सबै भीभीआईपी कक्षको सरसफाइ गरिने इन्चार्ज घिमिरेले बताइन्। उनका अनुसार साप्ताहिक एक दिन सबै कोठाको सफाइ गरिने, पर्दा धोएर राखिने बताइन्। ‘कोही नआए पनि हरेक हप्ता सबै कोठाको सरसफाइ हुन्छ, पर्दा, कार्पेटदेखि सबैको सफाइ गरेर राख्ने गर्छौँ‘‚ उनले भनिन्।

उपचारका लागि वेला बखत जान्छन् भीआईपीहरू 

अस्पतालको रेकर्डअनुसार पछिल्ला वर्षहरूमा भने विस्तारै भीआईपीहरू उपचारका लागि जाने गरेको देखिन्छ। भीभीआईपी तथा भीआईपी इन्चार्ज घिमिरेका अनुसार २०७७ सालदेखि हालसम्म १७ जना भीआईपीले विशष्ट कक्षमा रहेर उपचार गराए। २०७७ सालमा तत्कालीन सांसदहरू शान्ता चौधरी‚ मीनबहादुर विश्वकर्मा सहित पाँचजनाले सेवा लिएको घिमिरेले बताइन्।

२०७८ सालमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ८ दिन बसेर उपचार गराएका थिए। सोही वर्ष पूर्व सभामुख दमननाथ ढुङ्गाना, एमाले सचिव योगेश भट्टराई, तत्कालीन मन्त्री रामकुमारी झाँकी ८ जनाले भीआईपी कक्षको सेवा लिएका थिए। यस्तै २०७९ सालमा तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङ, स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी सहित ४ जनाले सेवा लिएका छन्।

‘पछिल्लो तीन वर्षयता भीआईपीहरू उपचारमा आउने संख्या बढेको छ’‚ भीभीआईपी तथा भीआईपी इन्चार्ज घिमिरेले भनिन्।

विशिष्ट उपचार कक्षमा के छ सुविधा?

विशिष्ट उपचार कक्षअन्तर्गत भीभीआईपी कक्षमा विरामीको कोठा र अन्य  ८ वटा कोठा छन्। भीभीआईपीका लागि विरामीको कोठासहित भान्सा, सुरक्षाकर्मी बस्ने कोठा, स्वकीय सचिव, कुरुवा, अतिथि कक्ष गरी ८ वटा कोठा छुट्याइएको छ। यसैगरी विरामी जाच्ने चिकित्सक र नर्सहरूका लागि छुट्टै कोठाको व्यवस्था छ। सबै कोठामा अट्याच बाथरुम पनि छ।

को-को पर्छन् भीभीआईपी र भीआईपीमा?

भीभीआईपीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख पर्छन् भने भीआईपीमा मन्त्रीहरू, सांसद, पार्टीका शीर्ष नेताहरू, संवैधानिक अंगका प्रमुख, पूर्व मन्त्रीहरू र सुरक्षानिकायका प्रमुखहरू पर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.