वैशाख १४ पछि पठनपाठन सुरु

|

काठमाडौं : सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७७ वटै जिल्लामा नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक पुगिसकेको जनाएको छ। छापिएका सबै पुस्तक सम्बन्धित ठाउँमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए।

उनका अनुसार २०८० को शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको छ। ‘यी सबै पुस्तक ७७ वटै जिल्लामा पुगिसक्यो, नपुगेको अब कुनै ठाउँ छैन,’ उनले थाहाखबरसँग भने। उनले छापिएका पुस्तक जनक शिक्षाको ७ वटै प्रदेशमा पुर्‍याएर बिक्री वितरण गरेको जानकारी दिए।

जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा छन्।

त्यसैगरी लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्ज छन्। ती कार्यालयबाट पुस्तक वितरण भएको उनले बताए। 

विकट जिल्लालाई पहिलो प्राथमिकता

जनक शिक्षाका प्रबन्ध निर्देशक झाले पहिलो प्राथमिकता विकट जिल्लालाई राखेको जानकारी दिए। ‘विकट जिल्लामा पुस्तक ढुवानी गर्न समय लाग्छ, त्यसैले हिमाली जिल्लालाई पहिलो प्राथमिकता राखेका थियौँ,’ उनले भने।

हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायत सबै विकट जिल्लामा पनि यस वर्ष पठनपाठन सुरु हुनुअगावै पुगेको जानकारी उनले दिए।

यसरी समयमै पुग्यो पुस्तक

शैक्षिक सत्र सुरु भएको ४/५ महिना बितिसक्दा पनि विद्यार्थीहरूको हातमा पुस्तक यसअघि नपुग्ने समस्या रहँदै आएको थियो।

यो समस्या विगत १४ वर्षदेखि रहँदै आएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन्। ‘विगत १४ वर्षदेखि ढुवानीमा कमिसन नमिल्दा, सरकारले चासो नदिँदा समयमा पुस्तक पुगेन,’ उनले भने।

तर यस वर्ष समयमै सम्बन्धित ठाउँमा पुस्तक पुगेको छ। जनक शिक्षाका प्रबन्ध निर्देशक झाले पुस्तक छपाइ, वितरण लगायतमा राम्रो व्यवस्थापन भएका कारण यस वर्ष समयमा पुस्तक पुगेको दाबी गरे।

‘समयमा चालू पुँजी व्यवस्थापन गर्न सक्यौँ, कागज आपूर्ति सहज भयो, छपाइ सामग्री समयमा जुटाउन सकियो। अहिले ३ वटा रंगिन छपाइ मेसिन थप गर्‍यौं, राम्रो जनशक्ति व्यवस्थापन गर्‍यौं, यही कारण समयमा पुस्तक पुग्यो,’ उनले भने। अबदेखि पुस्तक नपुग्ने समस्या नदाेहाेरिने उनकाे जिकिर छ।

उनका अनुसार यस वर्ष समयमा पुस्तक छपाइका लागि जनक शिक्षाले ८५ करोड ऋण लिएको थियो तर अहिले सबै चुक्ता गरिसकेको उनले बताए।

‘हामीसँग अर्बौं रूपैयाँ नगद हुँदैन, ऋण लिनै पर्छ, ८५ करोड लोन लिएका थियौँ तर किताब बेचेर व्याजसहित चुक्ता भइसक्यो। अब ऋणमुक्त भइसक्यौँ,’ उनले भने।

वैशाख १४ सम्म नयाँ भर्ना अभियान

देशभर अहिले नयाँ भर्ना अभियान चलिरहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीका अनुसार वैशाख १ गतेदेखि सुरु भएको नयाँ भर्ना अभियान दुई हप्ता अर्थात् वैशाख १४ गतेसम्म सञ्चालन हुनेछ।

त्यसपछि पठनपाठन सुरु हुने उनले जानकारी दिए तर काठमाडौं उपत्यकाको कतिपय निजी विद्यालयहरूले भने पठनपाठन सुरु गरिसकेका छन्। यस वर्षको नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ नारा बनेको छ। 

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ८४ (१) बमोजिम शिक्षा मन्त्रालयको गत माघ ६ गतेको मन्त्रिस्तरीय बैठकले वैशाख १ गते शुरु भई चैत मसान्तसम्म कायम गर्ने निर्णय गरिसकेको छ। यौसँगै कोभिड-१९ ले बिथोलिएको नयाँ शैक्षिक सत्र पनि पुनः लयमा फर्किएको छ। 

कोरोनाका कारण २०७७ सालबाटै शैक्षिक सत्र बिथोलिएको थियो। २०७७ सालमा वैशाखमा शुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइयाे।

२०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनामै व्यवस्थापन गरियो। मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र असार १ गतेबाट शुरु भई चैत मसान्तमा सक्ने निर्णय गरेको थियो। यो समयसम्म कोर्स नसकिएपछि सरोकारवालाहरूको सुझावअनुसार २०७९ को नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि शुरु गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.