यो वर्ष सबैको पुनर्निर्माण गरिसक्ने दावी

|

काठमाडौं : आज भूकम्पको ८ वर्ष पूरा भएको छ। विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको विनाशकारी भूकम्पमा ८ हजार ९७९ जनाको मृत्यु भएको थियो। २२ हजार ३०९ जना घाइते भएका थिए। 

त्यही भूकम्पले ऐतिहासिक सम्पदाहरूमा समेत क्षति गर्‍यो। पुरातत्व विभागका अनुसार देशभर भूकम्पले ९२० ऐतिहासिक-सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए।

तर भूकम्पको ८ वर्ष पूरा भइसके पनि अझै यी सबै सम्पदा ठडिएका छैनन्। पशुपति क्षेत्रको विश्वरूप मन्दिरलगायत ऐतिहासिक मन्दिरको पुनर्निर्माण अझै हुन सकेको छैन। 

भूकम्पले ३१ जिल्लाका अन्य ९ हजार ७२ वटा विद्यालय, १ हजार १९७ वटा स्वास्थ्य संस्थाका भौतिक संरचनामा र ४१५ सरकारी भवनमा क्षति पुगेको सरकारको तथ्यांक छ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले हालसम्म ७०३ सम्पदा पुनर्निर्माण भइसकेको जानकारी दिए। उनले भने, ‘देशभर ९२० सम्पदा भूकम्पले भत्काएको थियो, जसमा ७०३ वटा सम्पदाको पुनर्निर्माण भइसक्यो।’ उनका अनुसार अब २१७ सम्पदा पुनर्निर्माण हुन बाँकी छन्।

निर्माणमा किन ढिलाइ ? 

पुरातत्व विभागका प्रवक्ता कुँवर बाँकी सम्पदाहरूको निर्माण जारी रहेको बताउँछन्। सम्पदा निर्माण ढिलाइबारे उनले भने, ‘ढिलाइ भएको छैन, काम भइरहेको छ। ढिलाइ भए त यसरी सम्पदा नै बन्दैनथे।’ यसको निर्माण प्रकृयागत ढंगले जाँदा ढिलाइ भएको उनको भनाइ छ। 

उनले यी बाँकी सबै सम्पदाहरू यो वर्षसम्ममा सकिने बताए। ‘फेरि अरू थप २१५ गुम्बा बनाउनुपर्ने जिम्मेवारी थपिएको छ, ३० वटा बनिसकेका छन्, छिटै सक्ने योजना छ। नभए २०८२ सम्ममा सबै सम्पदा निर्माणको काम सकिन्छ,’ उनले भने।

पुनर्निर्माणमा ५ अर्ब खर्च लाग्ने अनुमान

बाँकी सम्पदा निर्माणमा करिब ५ अर्ब खर्च लाग्ने अनुमान पुरातत्व विभागको छ। विभागका प्रवक्ता कुँवर भन्छन्, ‘क्षतिग्रस्त सबै सम्पदा निर्माणमा १० अर्ब खर्च लाग्ने अनुमान छ, अहिलेसम्म ५ अर्ब सकिइसक्यो।’

उनले सम्पदा निर्माणमा बजेटको अभाव भने नभएको बताए। ‘बजेट विनियोजन भइरहेको छ, बजेट अभावले निर्माणमा समस्या हुँदैन,’ उनले भने।

अझै सकिएन २ वर्षअघि उद्‍घाटन भएको धरहरा पुनर्निर्माण

भूकम्पले क्षतिग्रस्त बनाएको धरहरा जस्ताको तस्तै राखेर बनाउन थालेको नयाँ धरहराको निर्माण पनि अझै सकिएको छैन।

भीमसेन स्तम्भको नामले समेत पुरकारिने धरहरा भूकम्पले क्षतिग्रस्त भएपछि नयाँ धरहरा निर्माणको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते गरेका थिए।

उनले धरहरा बनिनसक्दै २०७८ वैशाख ११ गते उद्‍घाटन गरे। उनले धरहराको उद्‌घाटन गरेको पनि २ वर्ष बितिसकेको छ तर अझै निर्माण सकिएको छैन।

पुरानो धरहरा अगाडिको ४२ दशमलव २ रोपनी क्षेत्रफलमा २२ तलाको कंक्रिटको धरहरा निर्माण गरिएको छ। धरहरामा संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत बनाइनेछ। नयाँ धरहरा निर्माणका लागि ३ अर्ब ८ करोड रूपैयाँ सम्झौतामा भएको छ। 

यता, रानीपोखरी निर्माणको काम भने सकिएर अहिले सर्वसाधारणका लागि खुला गरिएको छ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्। काष्ठमण्डप र पशुपतिको शक्तिपीठ जयबागेश्वरी मन्दिर पुनर्निर्माण भइसकेको छ।

काष्ठमण्डपको भने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साल चैत २१ गते उद्‍घाटन गरिन् तर अहिले उक्त काष्ठमण्डपमा हालिएको थाम र दलिन हल्लिन थालेको भन्दै स्थानीय त्रसित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.