|

काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिए। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्ने क्रम सुरु गरे। 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसनबाट उठेर बाहिर निस्कन लागे। सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बसेका देउवा उठेर बाहिर निस्कन लागेपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रोके। लगत्तै सभापति देउवा फर्केर आएर पुनः आसनमा बसे।

प्रमुख सचेतक लेखकले सभापतिलाई बीचमै किन फर्काए? 

 संसदीय अभ्यास र मान्यतामा भने यसको आफ्नो महत्व छ। सभाको नियमनसम्बन्धी कानुनको पालना थियो त्यो। 

सभापति देउवा सांसद रिजाल बोलिरहेकै अगाडिबाट बाटो काट्न लागेका थिए। सभामुख र रिजालको बीचबाट पर्नेगरी नै देउवा बाहिरिन लागेपछि लेखकले रोकेका हुन्।

देउवाको कार्य प्रतिनिधिसभा नियमावलीको विपरीत हुने भएपछि तुरुन्तै लेखकले उक्त अग्रसरता देखाएका हुन्। लेखकको आग्रहअनुसार सभापति देउवा उपसभापति धनराज गुरुङसँगै रहेको स्थानमा आएर बसे। प्रतिनिधिसभा नियमावलीको नियम २० मा सदस्यहरूले बैठकमा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ। जसमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने उल्लेख छ। 

यसअघि प्रतिनिधि सभामै एमाले सचेतक महेश बर्तौलाको ध्यानाकर्षणमा कांग्रेस सांसद पूर्णबहादुर खड्काले यस्तै प्रकरणमा माफी मागेका थिए। चैत १२ गतेको बैठकमा एमालेका बलराम अधिकारी बोलिरहेका वेला खड्का बीचबाट हिँडेका थिए। खड्काले नियमावली उल्लंघन गरेको भन्दै बर्तौलाले नियमापत्ति गर्नुभएको थियो। लगत्तै खड्काले नियमावली पालना नगरेकोमा माफी मागेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.