|

काठमाडौं :लोकसेवा आयोगसहित करिब ६० वटा सरकारी निकायको डाटा हराउनुमा सेवा प्रदायक, हार्डवेयर तथा सर्भर प्रदायकका साथै सेवाग्राहीको समेत कमजोरी देखिएको छ। यी तीन निकायबीच डाटा संवेदनशीलताको विषयमा उचित समन्वय र छलफल नहुँदा यस्तो देखिको हो। 

शुक्रबारको गोरखापत्रमा समाचार छ, राष्ट्रिय सूचना प्रविधि केन्द्रले सञ्चालन गर्ने गरी ओराकल कम्पनीले सरकारी सेवाग्राहीको डाटा राख्ने गरेको थियो। तर सर्भरमा समस्या आउँदा (लक हुँदा) डाटा नै हराएको समाचार आएपछि तीनवटै निकाय आफ्नो कमजोरी अरूमा पन्छाउन लागेका छन्। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठले लोकसेवालगायतका निकायहरूको डाटा हराउनुमा ओराकलको सर्भरमा समस्या देखिनु नै प्रमुख कारण रहेको बताए। उनले आफूहरूले सेवाग्राहीको आग्रहमा डाटाको संवेदनशीलताअनुसार ब्याकअप गर्ने गरेको तर आयोगले डाटा संवेदनशीलताको विषय आफूहरूलाई बुझाउन नसक्दा यस्तो समस्या आएको उल्लेख गरे। 

‘हामी होस्टिङ प्रदायक संस्था मात्र हौँ। आयोगबाट यसअघि डाटा ब्याकअपका लागि माग भएन। अर्को कुरा हामीसँग ब्याकअप गर्न पूर्वाधार नै भएन। यसमा हाम्रो पनि कमजोरी भएको छ’, उनले भने, ‘सधैँ हामीलाई हेटौँडामा मिरर सर्भर छ, त्यहाँ किन ब्याकअप भएन भनेर प्रश्न गरिन्छ। तर त्यहाँ कोरियाली सरकारले भवन मात्र बनाइदिएको हो। उपकरण दिएको होइन। हामीले प्रत्येक वर्ष अलिअलि गरेर उपकरण थप्दैै साना सर्भर र वेबसाइटको ब्याकअप गर्न थालेका छौँ।’

उपनिर्देशक श्रेष्ठले ओराकलको लक भएको सर्भरको हार्डडिस्कमा लोकसेवा आयोग, गोरखापत्र संस्थान, कृषि तथा वन विश्वविद्यालय, देशभरका विभिन्न पालिकाका ‘वेबसाइट होस्टिङ’ रहेको जानकारी दिए। उहाँले लोकसेवालगायतका सरकारी वेबसाइट होस्टिङ भएको सर्भरमा रहेको भर्चुअल मेसिन फेला नपरेको र ओराकल कम्पनीले राखेको हार्डडिक्समा रहने रिडरमा लक अर्थात् क्र्यास भएकाले यस्तो अवस्था आएको बताए।  

लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले चाहिँ मन्त्रिपरिषद्को निर्णयअनुसार सबै सरकारी निकायले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा राखेको बताए। ‘हामीले पनि सरकारको नीति नियमअनुसार त्यहाँ सबै डाटा राखेका हौँ। सेवाग्राहीका डाटा सुरक्षित गर्ने जिम्मेवारी केन्द्रको हो। हामीले ओराकललाई चिन्दैनौँ’, उनले भने, ‘त्यहाँ हाम्रो डाटाको सुरक्षा भएन। यस घटनापछि आयोगले आफैँ कसरी डाटा सुरक्षित राख्ने भन्नेतर्फ आफ्नै प्रणाली डेभलप गरेर लागेको छ।’ 

डाटा सुरक्षित गर्न नसक्नु केन्द्रको मुख्य कमजोरी रहेको बताउँदै उनले जिम्मेवारीबाट पन्छिन वेलैमा आयोगले पनि आफैँ डाटा ब्याकअप गर्नुपर्थ्यो, गरेन भन्नेजस्ता कुरा गैरजिम्मेवार र सतही तर्क भएको बताए। 

नेपालमा ओराकल कम्पनीको स्थानीय एजेन्ट (लोकल भेन्डर) वर्ल्ड डिस्ट्रिब्युसन नेपालका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले आफूहरूले हार्डवेयर (सर्भर) राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई दिएको र त्यसको सञ्चालनको जिम्मा आफूहरूको नभएको बताए। उनले आफूहरूले दिएको सर्भरको हार्डडिक्समा रहेको लजिकल युनिट ‘यूयूआईडी करप्ट’ हुँदा समस्या देखिएको जानकारी पाएपछि करिब दुई–तीन महिनायता ‘डाटा रिकभरी’मा  लागिपरेको जानकारी दिए। 

उनले ओराकलको सर्भरमा आएको यस्तो समस्या निकै दुर्लभ रहेको र दशौँ लाख सर्भरमा एउटामा यस्तो समस्या आउने गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.