|
म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालय

काठमाडौं : केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन माथिल्लो तहबाट चर्को दबाब पनि उनीहरूले खेप्नुपरिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त हुँदा पनि  अभिभावक र विद्यार्थीको आकर्षण तिनै सामुदायिक विद्यालयप्रति रहँदै आएको छ। 

सोमबारको गोरखापत्र दैनिकामा समाचार छ, विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रदेश मन्त्रालयका सचिवदेखि सङ्घीयमन्त्रीका स्वकीय सचिवसम्मले विद्यार्थी भर्नाका लागि चर्को दबाब दिएको बताए। ‘भर्ना नगरिदिएको भन्दै धेरै जना रिसाए। अहिले पनि दबाब खेपिरहेका छौँ। दैनिक थुप्रै फोन आइरहेकै छन्’, उनले भने, ‘भर्नासम्बन्धी सानो काम गरिदिएनन् भन्ने आरोप जनप्रतिनिधिले पनि लगाइरहेका छन् तर त्यस्ता दबाबलाई बेवास्ता गर्दै आएका छौँ।’

उनको विद्यालयले ३७५ जना विद्यार्थी भर्ना खुलाएकोमा एक हजार ९७४ जनाको आवेदन परेको थियो। कक्षा ३ सम्म पहिलो आउनेलाई भर्ना लिइयो भने त्यसभन्दा माथिका तहमा प्रवेश परीक्षा सञ्चालन गरिएको छ।

कतिपय सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व, शिक्षकको मेहनत र पठनपाठनमा नयाँ अभ्यासका कारण अब्बल बन्दै गएका छन्। धान्नै नसक्ने गरी विद्यार्थी ओइरिएपछि प्रवेश परीक्षा नै सञ्चालन गर्नु परिरहेको छ। नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेपछि केही विद्यालयले प्रवेश परीक्षामा कोड प्रणाली लागू गर्नुपरेको छ। 

कक्षा १–१२ मा सात हजार छ सय विद्यार्थी रहेको बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले यस वर्ष ६५० जना नयाँ विद्यार्थी भर्ना लिएको छ। प्रधानाध्यापक दिनेश थापाले  दुई हजार तीन सय जनाको आवेदन परेको बताए। ‘राजनीतिक र प्रशासनिक नेतृत्वबाट निकै दबाब खेप्नुपर्छ। भर्नाका समयमा हामीलाई निकै सकस हुने गरेको छ’, उनले भने। विद्यालयले विद्यार्थी बोक्न १० वटा बस प्रयोग गर्ने गरेको छ। 

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयले यो वर्ष सबै कक्षामा गरेर सात सय नयाँ विद्यार्थी भर्ना गरेको छ। प्रवेश परीक्षामा सम्मिलित हुन दुई हजार सात सय विद्यार्थीको आवेदन परेको थियो। भर्नाका लागि अझै पनि विद्यार्थी आउने क्रम जारी रहेको सुनाउँदै विद्यालयका प्रधानाध्यापक रामशरण दवाडीले भने, ‘आएका जति सबैलाई भर्ना गर्न सकेनौँ। धेरैलाई फर्काउनुपर्‍यो।’

साढे तीन हजार विद्यार्थी अध्ययनरत यस विद्यालयले कक्षा ६ मा तीन सेक्सन, कक्षा सातमा सात सेक्सन, कक्षा आठमा आठ सेक्सन तथा कक्षा नौ र १० मा नौरनौ सेक्सनमा विद्यार्थी भर्ना गरेको छ।  तनहुँको सत्यवती माध्यमिक विद्यालय, सुर्खेतको जन माध्यमिक विद्यालय, झापाको हिमालय माध्यमिक विद्यालयलगायतमा पनि हरेक वर्ष नयाँ भर्ना हुन चाहने विद्यार्थीको लर्को लाग्ने गरेको छ। 

काठमाडौं बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयले पनि कक्षा १–१२ मा साढे चार हजार विद्यार्थी पढाइरहेको छ। राजनीतिक तथा प्रशासनिक दबाब झेल्न नसक्दा विद्यालयले यस वर्षदेखि प्रवेश परीक्षामा ‘कोड’ प्रणाली लागू गरेको प्रधानाध्यापक नातिकाजी महर्जनले बताए।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले प्रवेश परीक्षाका साथै अन्तर्वार्ता लिएर नयाँ विद्यार्थी भर्ना लिएको छ। चार हजार २०० विद्यार्थी अध्ययनरत यो विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आएका जति सबै विद्यार्थीलाई पढाऔँ भन्ने चाहना भए पनि छनोट गर्न बाध्य हुनुपरेको बताए।

काठमाडौँको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतमले धेरै विद्यार्थीलाई भर्ना गर्न नसक्दा निराश तुल्याएर फर्काउनुपरेको सुनाए।

विद्यार्थीको आकर्षण मानिए पनि अधिकांश विद्यालयमा अझै पनि पर्याप्त भौतिक संरचना तथा जनशक्तिको अभाव छ। यस्ता विद्यालयले निजी स्रोतमा शिक्षक व्यवस्थापन गर्दै आएका छन् र विद्यार्थीबाट वार्षिक शुल्कका नाममा अतिरिक्त रकम उठाउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.