|
सोमबार बिहान सरकारी निवासमा प्रवेश गर्दै मुख्यमन्त्री पाण्डे

पर्वत : गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही वैशाख २१ गते विश्वासको मत लिने भएका छन्। 

मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिएर आफू पदमा बलियो बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी पाण्डेले गरिरहेका छन्।

कांग्रेस र माओवादीले आलोपालो गरेर मुख्यमन्त्री बन्ने सहमति अनुसार गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता पाण्डेले त्यसको भोलिपल्ट वैशाख १५ गते शपथ लिएका थिए। सरकारमा अहिले पाण्डेसहित विनाविभागीय मन्त्रीका रूपमा सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडा छन्।

मन्त्रीद्वय तिवारी र सिम्खडाले कुन पाउने मन्त्रालय पाउने भन्ने यकिन भएको छैन। गण्डकी प्रदेश सरकारमा हाल सात मन्त्रालय मात्रै कायम गरिएका छन्। दुई जना विनाविभागीय र एक जना मुख्यमन्त्री गरेर तीन मन्त्रीको टुङ्गो लागे पनि अब थप चार जना मन्त्री चयन गर्नुपर्ने छ। कांग्रेस र माओवादीको योगफलमा बनेको नयाँ सरकारमा कुन दलले कति मन्त्रालय पाउने भन्ने यकिन भएको छैन। 

कांग्रेस र माओवादीको इच्छा अनुसार सबैलाई खुशी मिल्ने गरेर मन्त्रालयको बाँडफाँड टुंगो लगाउन मुस्किल भएकाले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काममा मुख्यमन्त्री पाण्डे जुट्नेछन्। 

६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सात (सभामुख बाहेक), राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी) का एक जना सांसद छन्। प्रदेश सभामा विश्वास जित्नका लागि बहुमत आवश्यक हुने भएकाले कम्तीमा पनि ३१ मत प्राप्त गर्नुपर्ने अवस्था छ। गण्डकीमा अहिले एमाले र राप्रपा एक कित्तामा रहेका छन्।

कांग्रेस र माओवादीबाट मताधिकार व्यक्त गर्ने सदस्यहरूको सङ्ख्या ३४ हुन आउँछ। मनाङबाट स्वतन्त्र रूपमा चुनाव जितेर आएपछि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेको साथ पनि कांग्रेस–माओवादी गठबन्धनलाई नै रहने सम्भावना छ। 

नेकपा एस केन्द्रमा पनि कांग्रेस–माओवादी गठबन्धनमा रहनु तथा मनाङेले प्रदेश सरकारमा निर्माणमा विगतमा पनि कांग्रेसलाई सघाएर मन्त्री समेत बनेकाले उनी पाण्डेकै सरकारमा रहने देखिएको छ। यो अवस्था रहँदा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदा ३५ मत आउने सम्भावना छ।

सरे सरकारी निवासमा

मुख्यमन्त्री पाण्डे सोमबार बिहान सरकारी निवासमा सरिसकेका छन्। ज्योतिषको सुझाव अनुसार सोमबार बिहान साढे ७ बजे उनी मुख्यमन्त्री निवासमा सरेका हुन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.