|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको परीक्षामा अंग्रेजी भाषामा नभई अनिवार्य नेपाली भाषामा मात्रै उत्तर लेख्नुपर्ने जनाएको छ।

बोर्डले अंग्रेजी भाषामा पनि उत्तर लेख्न पाइने व्यवस्था गर्न लाग्दा विवाद उत्पन्न भएपछि अनिवार्य नेपाली भाषा माध्यामबाट मात्रै उत्तर लेख्ने भनेको हो।

परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अंग्रेजी भाषामा उत्तर लेख्ने विषयमा छलफल तथा सुझावको लागि मात्रै राखिएको बताए। उनले थाहाखबरसँग भने,‘अंग्रेजी भाषामा उत्तर लेख्न पाउने व्यवस्था गर्ने भनेर होइन, हामीले सुझावका लागि यो कुरा राखेका हौँ,अरू केही निर्णय भएको छैन,त्यसैले जे यथावत् थियो,त्यही व्यवस्था लागु हुने हो,अनिवार्य नेपालीमा मात्रै उत्तर लेख्नुपर्छ।’

परीक्षा बोर्डले उत्तर अंग्रेजी माध्यमबाट लेख्न पाइने भनेपछि सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको थियो।

समाज नेपालका अध्यक्ष महेन्द्र विष्टले राष्ट्रिय शिक्षा नीति २०७६ तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र सम्बद्ध अन्य निकायहरूबाट विद्यालय शिक्षाको सामाजिक अध्ययनको सिकाइ सहजीकरण तथा पठनपाठनको माध्यम भाषा अनिवार्य नेपाली भाषा हुनुपर्ने व्यवस्था रहेको बताए। 

‘मूल्यांकनमा प्रश्नपत्रको भाषा तथा परीक्षार्थीले पनि सोही भाषामा उत्तर दिनुपर्ने प्रष्ट व्यवस्था हुँदा हुँदै एवं सोहीबमोजिम विगतका वर्षमा अभ्यास भइसकेको सन्दर्भमा एकाएक परीक्षा बोर्डले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको नमूना प्रश्नपत्र अंग्रेजीमा अनुवाद गरेको र परीक्षार्थीले अंग्रेजीमा समेत उत्तर दिनसक्ने भनी उल्लेख भएकोमा हामी सामाजिक अध्ययनका पेशाकर्मीहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बौद्धिक वर्गको सुझबुझ,गहिरो अध्ययन र राष्ट्रको भविष्य समेतलाई मध्यनजर गरी तय गरिएको शिक्षण सिकाइको माध्यम भाषालाई राष्ट्रको एक जिम्मेवार निकायबाट अन्यथा निर्णय गरिएकोमा सिंगो शिक्षा क्षेत्र अन्योल ग्रस्त भएको महसुस भएको समाज नेपालले जनाएको छ।

‘यो समाज उक्त निर्णयलाई अबिलम्ब सच्याउन र शिक्षा नीति तथा पाठ्यक्रम प्रारूपको पूर्वत सारमा अनवरत कार्यान्वयन गर्न/गराउन सरोकारसँग जोडदार माग गर्दछ,’विज्ञप्तिमा उल्लेख छ।

परीक्षा बोर्डले आफ्नो वेबसाइटमा केही दिनअघि कक्षा-१२ को सामाजिक विषयको नमुना प्रश्नपत्र अङ्ग्रेजीमा पनि राखिसकेको छ। तर,अबदेखि अङ्ग्रेजीमा नराख्ने परीक्षा नियन्त्रक शर्माको भनाइ छ।

कक्षा १० को सामाजिक शिक्षा विषयको हकमा के हुन्छ

कक्षा–१२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको प्रश्नपत्र र परीक्षामा अंग्रेजी भाषामा उत्तर लेख्न पाइने भनिएको विरूद्ध विवाद भइरहँदा यता,कक्षा–१० को सामाजिक शिक्षा विषयमा पनि अंग्रेजी माध्यमबाट अध्ययन गर्न पाउने व्यवस्था गर्न लागिएको छ। यस्ता सूचनाहरू बाहिरिएका छन्। 

तर,यसको पनि केही हाल आधिकारिक निर्णय नभएको परीक्षा बोर्डले स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले थाहाखबरलाई जानकारी दिँदै भने,‘सरकारले यसको अहिलेसम्म केही निर्णय गरेको छैन।’

उनका अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदद्वारा भने कक्षा–१० को सामाजिक शिक्षा विषयमा पनि अंग्रेजी माध्यमबाट अध्ययन गर्न पाउने व्यवस्था गर्नेमा जोड दिएको छ।

‘तर,आधिकारिक निर्णय भएकै छैन,निर्णय नभएसम्म नेपाली भाषामै पठनपाठन र जाँच दिनुपर्छ।’ उनले अंग्रेजी माध्यममा पढेकाले कसरी नेपालीमा दिन्छन् भन्ने गुनासो आएको बताए। छलफल र सहमतिबाट थप निर्णय गरिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.