|
फाइल तस्वीर ।

धनगढी : कैलालीमा एक नवजात शिशु झाडीमा फेला परेको छ। आज (बिहीवार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुल तल बाँसको झाडीमा शिशु फेला परेको हो।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर शंकर खड्काले आज बिहान शिशु फालिएको अवस्थामा भेटिएको जानकारी दिए। उनका अनुसार ती शिशु स्थानीय २२ वर्षीया रीता विकको भएको खुलासा भएको छ।

उनका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरबमा छन्। रीताले श्रीमान् वैदेशिक रोजगारीमा रहेकै वेला नवजात शिशुलाई जन्म दिएको प्रहरीको दाबी छ।

रीताले ती शिशुलाई ७ दिनअघि जन्माएकी थिइन्। हिजो राति उनले बच्चालाई झाडीमा फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए।

उनका अनुसार प्रहरीले शिशु फालेको खबर पाएपछि रीतालाई आजै नियन्त्रणमा लिएको छ। महेन्द्रनगर हुँदै भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई कञ्चनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले ती महिलालाई कैलालीतर्फ ल्याइँदै छ।

प्रहरी स्रोतका अनुसार अवैध सम्बन्धबाट शिशुको जन्म भएपछि ती महिलाले यस्तो घटना निम्त्याएको बुझिएको छ। यद्यपि प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

झाडीमा भेटिएको बेवारिसे शिशुको भने लालरत्न अस्पतालको एनआईसीयुमा राखेर उपचार भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.