|

जनकपुरधाम : उच्च अदालत जनकपुरले राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले सोमबार यो आदेश जारी गरेको हो। स्थानीय बलदेव साह तेलीले उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाई दिएको रिट निवेदनमा अदालतले यस्तो फैसला गरेको हो। 

राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गा अतिक्रमण गरी नगर सवारीसाधन पार्किङस्थल बनाउँदा विद्यालयमा ध्वनि प्रदूषण बढाउने र विद्यार्थीकोे पठनपाठनमा पनि ठूलो असर पर्ने भन्दै अदालतले निर्माण कार्यमा रोक लगाएको हो।

उच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ र उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरेको हो। 

निवेदकको तर्फबाट अधिवक्ता किशोरी साह र कौशलेन्द्र लाल कर्ण तथा विपक्षीको तर्फबाट मन्सुर राईनले बहस गरेका थिए। यसअघि जनकपुरधाम उपमहानगरपालिकाले आधुनिक पार्किङस्थल निर्माणका लागि सो जग्गामा गत माघ २७ गते शिलान्यास गरेको थियो। नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले उपमहानगर–८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठ्ठा जग्गामा निर्माण हुने पार्किङस्थलको शिलान्यास गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.