|

काठमाडौं : सार्वजनिक सेवामा रहँदा साढे ७२ लाख अकुत सम्पत्ति आर्जन गर्ने वन अधिकृतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मिश्र सेवा प्रवेश गरेको २०३६ सालदेखि २०७० सालसम्मको अवधिमा उनले ७२ लाख ५२ हजार ४८० रूपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।

उजुरी परेपछि अख्तियारले मिश्र सेवा प्रवेश गरेको मिति २०३६।११।१० देखि मिति २०७०।०८।१६ सम्मको अवधिमा उनको जम्मा आय आर्जन ९६ लाख ६८ हजार ५७ रूपैयाँ ७९ पैसा र उनले गरेको जम्मा खर्च तथा लगानी (व्यय) १ करोड ६९ लाख २० हजार ५३८ रूपैयाँ ३८ पैसा रहेको खुलेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। जसअनुसार ७२ लाख ५२ हजार ४८० रूपैयाँ ५९ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत नखुलेको हो।

मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले जरिवाना र कैदका साथै बिगो जफत गर्न अख्तियारले मागदाबी लिएको छ।

साथै उनकी श्रीमती हिरादेवीको नाममा जग्गा किनी सो जग्गामा घरसमेत बनाएको देखिएकाले हिरादेवीको नाममा रहेको घर तथा जग्गाको स्रोत नखुलेको रकम ७२ लाख ५२ हजार ४८० रूपैयाँ ५९ पैसा जफत हुन मागदाबि लिने तथा मिश्रले खरिद गरी हिरादेवीको नाममा राखेको जग्गा र सो जग्गामा बनेको घरसमेतबाट जफत गर्ने प्रयोजनको लागि मात्र हिरादेवीलाईसमेत प्रतिवादी कायम गरेको अख्तियारले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.