|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले २०७४ सालमै जोरपाटी चोकमा रहेको सार्वजनिक जग्गामा साततले गोकर्णेश्वर भवन बनाउने भनेर योजना ल्यायो। नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा गौरवका योजनाअन्तर्गत नै भवन निर्माण गर्ने योजना ल्यायो र ५ करोड रूपैयाँ बजेट विनियोजन पनि गर्‍याे।

तर योजनाको ६ वर्ष बित्दा पनि न त्यहाँ नगरपालिकाको भवन बनेको छ न त जग्गा नै खाली भयो। अहिले व्यवसायीहरूले उक्त सार्वजनिक जग्गामा रजाइँ गरिरहेका छन्।

२०७६ पुसमा तत्कालीन गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले थाहाखबरसँग भनेकी थिइन्, ‘हामी जनप्रतिनिधि भएर आउनुभन्दा अगाडि पञ्चायतकालबाटै सार्वजनिक जग्गामा पसल सञ्चालन गरिएको थियो, २८ वर्ष भइसक्यो।’

उनको भनाइअनुसार उक्त सार्वजनिक जग्गा व्यवसायीले कब्जा गरेको ३२ वर्ष भइसकेको छ। अहिले जो कोही जोरपाटी चोकमा पुगेपछि सानो बजार व्यवसायी समूहले सञ्चालन गरेको एउटा कुरूप बजार देखिन्छ। ३ रोपनी क्षेत्रफलमा फैलिएको बजारमा खिया लागिसकेका जस्ता छन्।

त्यसमाथि त्रिपाल र ढुंगाले थिचिएको छ। यसले पनि शहरको सौन्दर्यलाई कुरूप बनाएको छ। ती अव्यवस्थित ठाउँलाई व्यवस्थित बनाउन त्यहाँका स्थानीयले समेत माग गरेका र आवाज उठाएका छन्।

पटक पटक निर्देशन तर सकेन हटाउन

गोकर्णेश्वर नगरपालिका र सानोबजार व्यवसायी समूहबीच २०७६ साल भदौमा प्रतिसटर कौडीको भाउ अर्थात् मासिक १५ सय रूपैयाँका दरले लगाउने गरी सम्झौता भयो।

सम्झौताको प्रथम पक्ष भनिएको गोकर्णेश्वर नगरपालिकालाई चौमासिक रूपमा जोरपाटी चोकमा रहेको कृषि विकास बैंक खातामा बहाल बुझाउनुपर्ने सो सम्झौतामा उल्लेख छ।

उक्त सम्झौतापत्र अनुसार २०७६ साउन १ गतेदेखि २०७६ पुस मसान्तसम्म बहाल अवधि कायम गरियो। नगरपालिकाले भवन निर्माण अगाडि नबढाएको अवस्थामा सो सम्झौता २०७७ साल असार मसान्तसम्म पुनः कायम हुने पनि उल्लेख थियो। तर म्याद थपिँदै लगियो।

तत्कालीन गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुस २०७६ मै उक्त जग्गामा नगरपालिकाले भवन बनाउन लागेको भन्दै १५ दिनभित्रमा टहरा खाली गराउने आश्वासन दिएका थिए।

उनले जोरपाटीको नयाँपाटीमा पसल व्यवसायीलाई सार्ने बताएका थिए। तर कार्यान्वयन भएन। निर्देशन र आश्वासन बिलायो।

नगरपालिकाले २०७८ साउन २० गते प्रशासनिक भवन बनाउने भन्दै ७ दिनभित्र जग्गाको सबै पसल टहरा खाली गर्न व्यवसायीहरूलाई पत्र काटेको थियो तर त्यो बेला पनि नगरपालिकाले हटाउन सकेन।

महानगरपालिकाले यस पटक सार्ला बजार ?

नगरपालिकाले जोरपाटी चोकको एउटा डिजिटल बोर्डमै यही वैशाख महिनाभित्र उक्त बजार सर्ने भनी पुनः सार्वजनिक सूचना राखेको छ तर वैशाख महिना सकिनै लाग्दा पनि अझै ती व्यवसायीलाई नगरपालिकाले सारेको छैन।

नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले यसपटक भने व्यवसाय सार्ने र उक्त जग्गा जसरी पनि खाली हुने जानकारी दिए।

उनले भने, ‘अलिकति काम बाँकी रह्यो, काम सकेपछि सर्छ, १५ दिनभित्रमा सर्छ, त्यसपछि उक्त जग्गामा नगरपालिकाको भवन बनाइनेछ।’

उनका अनुसार जोरपाटी ओरालो नजिकमा रहेको चामुण्डा साझा संस्थाभित्र उक्त बजारको व्यापार सर्दै छ। त्यहाँ १६७ वटा सटर नगरपालिकाले बनाइसकेको छ। 

पहिला नै उक्त जग्गा खाली गर्ने भने पनि व्यवसायीलाई सार्न ठाउँको व्यवस्था गर्नुपर्ने हुँदा समय लागेको उनको भनाइ छ। ‘उनीहरूको पनि रोजीरोटीको कुरा आउँछ, ठाउँको व्यवस्थापन गरेर मात्रै सार्नै भनेपछि ढिलाइ भयो, अब चाहीँ व्यवस्थित गर्छौं,’ उनले भने। 

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.