|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर चमेनागृह सञ्चालनका लागि भवन भाडामा लिएको एक कम्पनीले साढे सात वर्ष बितिसक्दा पनि भाडा बुझाएको छैन। 

आइतबारको गोरखापत्र दैनिका समाचार छ, पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्सँग सम्झौता गरी भाडामा लिएको काठमाडौंको गोठाटारस्थित प्राणनाथ क्याफेका सञ्चालकले ‘राजनीतिक पहुँच’का आधारमा भाडा बुझाउन अटेर गरेको हो। 

विश्व सम्पदा सूचीभित्र रहेको पशुपतिनाथ मन्दिर परिसर, तिलगंगास्थित पर्यटन सूचना केन्द्रको भवनमा चमेनागृह सञ्चालनमा दिनेगरी २०७२ साउन ३२ गते कोषका तत्कालीन सदस्यसचिव गोविन्द टण्डन र प्राणनाथ क्याफेका सञ्चालक गोपीकृष्ण रिजालले पाँचवर्षे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। तर २०७७ साउन ३१ गतेसम्मको भाडाबापतको ९० लाख ७६ हजार ८३५ रुपैयाँ ७७ पैसा प्राणनाथ क्याफेका सञ्चालक रिजालले बुझाएका छैनन्। 

कोषका प्रवक्ता रेवतिरमण अधिकारीले पटक पटक ताकिता गर्दा, पत्र काटेर सूचित गर्दा र सार्वजनिक सूचना जारी गर्दा पनि सञ्चालक रिजालले भाडाबापतको रकम नबुझाएको बताए।  

उनका अनुसार प्राणनाथ क्याफेका सञ्चालकले २०७२ चैत १ देखि २०७३ साउन ३१ गतेसम्मको पाँच लाख ८४ हजार ८९५ रुपैयाँ, २०७३ साउन ३२ देखि २०७४ साउन ३१ गतेसम्मको १५ लाख ४४ हजार १२२ रुपैयाँ बुझाउन बाँकी छ । त्यसैगरी आर्थिक वर्ष २०७४/७५ को १६ लाख ९८ हजार ५३५ रुपैयाँ, २०७५/७६ को १८ लाख ६८ हजार ३८८ रुपैयाँ र २०७६/७७ को २० लाख ५५ हजार २२७ रुपैयाँ बुझाउन बाँकी रहेको उनले बताए। 

सञ्चालक रिजालले भनेसम्झौता गर्दा क्याफे निर्माणको खर्च भाडामै मिलान गर्ने समझदारी भएको र तीन हजार वर्गफिटको टहरो बनाउँदा लागेको खर्च भाडाबापत कटौती गरेपछि मात्रै अरू रकम तिर्ने बताए। ‘टहरो निर्माण गर्दा ४८ लाख रुपैयाँ खर्च भएको छ’  उनले भने, ‘भवन निर्माण विभागले ह्रासकट्टी काटेर ३५ लाख कायम गरेको छ । हाम्रोतर्फबाट हिसाब राफसाफ गर्न धेरै पटक पत्र लेखिएको छ । तत्कालीन पर्यटनमन्त्रीद्वय योगेश भट्टराई र प्रेमबहादुर आलेलाई भनेर हिसाब मिलान गर्न भनेका थियौँ । तर कोषले केही गरेन।’

राजनीतिक पहुँच

प्राणनाथ क्याफेको सञ्चालन रिजालसँगै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले गरेका थिए। प्रदेश सभा सदस्य लम्सालले कोषका तर्फबाट सम्झौताअनुसार आफूहरूले निर्माण गरेको संरचनाको फरफारक गर्न धेरै पटक अनुरोध गरेको र आफूले पनि दुई पक्षलाई मिलाउनका लागि समन्वय गर्न खोजेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.