|

बागलुङ : जब ठूलो वर्षा हुन्छ, तब बागलुङ बजारको मुख्य चोक जलमग्न हुन्छन्। नाली थुनिएर सडक जलमग्न हुनुका साथै पसलमा समेत ढलसहितको भल पस्दा व्यापारीले ठूलो समस्या खेप्नु परेको छ। 

अव्यवस्थित ढलका कारण बजारवासीले वर्षौँदेखि समस्या खेप्दै आएका छन्। भलसँगै आएको पानी सडकमा मात्रै ताल बन्दैन, बजारवासीको घर, पसलभित्रै पुग्छ। बागलुङ बजारको मुख्य केन्द्र हल्लन चोक, समीक्षालय चोकका व्यापारी तथा स्थानीय वर्षौँदेखि हैरानी खेप्दै आएका छन्। 

बागलुङ नगरपालिकाले सफा र सुन्दर नगरको नारा लगाए पनि सहीरूपमा ढल व्यवस्थापन नगर्दा वर्षा हुँदा साथ बजार क्षेत्र जलमग्न हुने गरेको छ। ठूलो वर्षाका कारण नाली बन्द भएपछि फोहोर सबै सडक र व्यापारीको पसलभित्र पस्ने गरेको छ। जसले बजार र सडकलाई कुरूप बनाउने गरेको छ। वर्षा हुँदा साथ बजारको मुख्य चोकमा पानीको ताल बन्छ। पैदल यात्रा गर्न समेत समस्या हुँदै आएको छ। 

वर्षातको समयमा नालीबाट सोझै घर भित्र पानी छिर्दा अन्नपात, लत्ता कपडा तथा पसलका समान भिजेर नष्ट हुने गरेको बागलुङ नगरपालिका–२ हल्लनचोकका तेजबहादुर थापाले बताए। पानी पर्दा रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको भन्दै उनले बर्खाको तीन महिना निकै समस्या भोग्नु परेको थापाले बताए। सडक तथा नाली निर्माण आवश्यकता र मापदण्ड अनुसार नहुँदा हरेक वर्ष बजारवासीले यस्तो समस्या भोग्नु परेको उनको गुनासो छ। वर्षौँदेखिको यो समस्या यहाँका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सबैले बुझे/भोगेको भए पनि यस तर्फ ध्यान नदिएको थापाले बताए।

‘दशौँ वर्षदेखिको समस्या हो यो, सबैलाई जगजाहेरै भएको कुरा हो, तर देखेर पनि नदेखे जस्तो गर्छन्, नालीको सही व्यवस्थापन गरेको भए किन हामीले यस्तो समस्या भोग्नु पर्थ्यो’, उनले भने, ‘सडकको हिलो र ढलको पानी सबै पसलमा पस्छ, हिउँदै यस्तो हालत छ, बर्खा लागेपछि कस्तो होला?, ध्यान दिएर काम गरे त यो समस्या पहिलेनै समाधान हुने थियो।’

स्थानीय व्यापारी रामप्रसाद सुवेदीले सरोकारवाला निकायले ध्यान नदिँदा बजारवासीले वर्षौँदेखि एउटै समस्या खेप्दै आएका बताए। उनले नाली थुनिएर सबै फोहोर सडकमा आउने र गाडीले उछिट्याएर ढल सबै पसलभित्र पस्ने गरेको बताए। नगरपालिकाले नाली मात्रै समय–समयमा सफा गरिदिए ठूलो वर्षा हुँदा बजार क्षेत्र जलमग्न नहुने सुवेदीको भनाइ छ।

‘खास समस्या नालीको नै हो, नाली व्यवस्थित नहुँदा पटक–पटक यस्तो समस्या आइरहेको छ, बजार क्षेत्रको मुख्य नालीलाई फराकिलो र सहजरूपमा ढल बग्न सक्ने गराउने भए यो समस्या आउने नै थिएन,’ सुवेदीले भने, ‘अब रातभर बसेर लत्ता कपडा र माल सामान जोगाउनु पर्छ, नत्र सबै साना ढल पसेर नोक्सान गरिदिन्छ।’

बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेलले वर्षौँ पुरानो नालीका कारण बेला–बला बजार क्षेत्र जलमग्न हुने गरेको भन्दै यसको यो समस्याको तत्काल समाधान गर्ने बताए। दीर्घकालीन रूपमा समाधान गर्नका लागि ठूलो योजनाको डीपीआर भइरहेको र केही तत्कालका लागि समस्या भएका ठाउँमा ह्युम पाइप राखेर ढल व्यवस्थापन गर्ने उनको भनाइ छ।

‘बागलुङ बजारको नाली धेरै वर्ष पहिले निर्माण भएका हुन्, नालीले बजार क्षेत्रको ढल र वर्षाको भल थेग्न नसक्ने अवस्था छ, बजार क्षेत्रको ढललाई व्यवस्थित गर्न एउटा ठूलो ‘प्रोजेक्ट’ स`\चालन गर्ने योजना छ,’ अध्यक्ष बोसेलले भने, ‘हिलेलाई साँघुरा नाली भएका ठाउँमा ठूला पाइप अथवा ह्युम पाइप राखेर भए पनि समस्या समाधान गर्ने तयारी गरेका छौँ, बर्खा अगावै त्यो काम सम्पन्न गर्ने गरि नगरपालिकामा छलफल भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.