|

लाहोर : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सत्तारुढ गठबन्धनले सेनालाई आफ्नो पार्टीविरुद्ध खडा गरेको आरोप लगाउँदै देश संकटमा फस्ने र टुक्रन सक्ने चेतावनी दिएका छन्।

जमाँ पार्क निवासबाट भिडियो सन्देशमा खानले राजनीतिक अस्थिरता अन्त्य गर्ने एक मात्र उपाय निर्वाचन भएको बताए।

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले भने, ‘पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) का नेताहरू र लण्डन भागेका नवाज शरीफलाई देशको कुनै वास्ता छैन।’

संविधान उल्लंघन‚ सरकारी संस्था ध्वस्त र पाकिस्तानी सेनाको बदनाम हुनुसँग उनीहरूलाई कुनै मतलब नभएको भन्दै खानले चर्को आलोचना गरे। उनीहरूले सत्तामा रहँदा लुटेको सम्पत्ति जोगाउन स्वार्थका लागि काम गरिरहेका छन्।

उनले भने, ‘देश विनाशतर्फ अघि बढेको डरलाग्दो सपना देखिरहेको छु। म सरकारलाई चुनाव गराउन र देश बचाउन आग्रह गर्छु।’

इस्लामावाद उच्च अदालत परिसरबाट मे ९ तारिखमा उनलाई गिरफ्तार गरिएपछि भड्किएको हिंसाको बारेमा सोध्दा खानले सत्तारूढ गठबन्धन र पञ्जाब सरकारले आयोजना गरेको षड्यन्त्र भएको बताए।

‘डन’ अखबारले पूर्वप्रधानमन्त्रीलाई उद्धृत गर्दै लेखेको छ, ‘सत्तामा बस्नेले संवेदनशीलताका साथ सोच्नुपर्ने वेला आएको छ, नत्र देशमा पूर्वी पाकिस्तान जस्तो अवस्था आउन सक्छ।’ पूर्वी पाकिस्तान आजको बंगलादेश हो। इमरानले देश टुक्रन सक्ने चेतावनी दिए।

सेनाको आलोचनालाई उचित ठहर गर्दै खानले भने, ‘जब मैले सेनाको आलोचना गर्छु, यो मेरो आफ्नै बच्चाहरूको आलोचना गर्नु जस्तै हो।’ आफूले देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने जानकारी दिए। पूर्व सेनाप्रमुखले मविरुद्ध षड्यन्त्र गरेको स्पष्ट जानकारी हुँदा पनि मैले हस्तक्षेप गरिनँ।’ 

खानको जमाँ पार्कको घरमा करिब ४० आतङ्ककारी लुकेर बसेको पञ्जाब सरकारको दाबीको जवाफ दिँदै खानले खोजी वारेन्ट लिएर आफ्नो घरमा आउन भने। उनले भने, ‘तर यसलाई देशको सबैभन्दा ठूलो राजनीतिक दल पीटीआईलाई दबाउन सुरु गर्ने बहानाको रूपमा प्रयोग गर्नु हुँदैन।’

खानले हालैको सर्वेक्षण अनुसार पाकिस्तानको ७० प्रतिशत जनसङ्ख्या पीटीआईसँग रहेको र बाँकी ३० प्रतिशत सत्तारुढ गठबन्धनमा रहेका अन्य सबै दलहरूसँग रहेको बताए।

भिडियो सन्देशपछि इमरान खानले मिडियाका प्रतिनिधिहरूलाई आफ्नो घरमा आतंकवादीहरू लुकेका छन् कि भनेर हेर्न आफ्नो निवासमा जान अनुमति दिए। खानको घरमा पुगेका संवाददाताहरूले त्यहाँ घरेलु कामदार र केही प्रहरी मात्र देखेको बताएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.