|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताएका हुन्।

उनले नेपालको एक इन्च जमिन पनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताए। उनले इपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमणअघि केही भन्न नसकिने बताए।

उनले भने‚ ‘इपिजी रिपोर्टदेखि लिएर सीमा समस्यासँग सम्बन्धित विषयहरु, हाम्रो जमिनसँग सम्बन्धित विषयहरुमा पनि हामीले के कुरा प्रष्ट गरेका छौँ भने हामी हाम्रो एक इन्च जमिन पनि हामी छोड्न सक्दैनौँ। हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन। यो नीतिअन्तर्गत हामी नेपालको सबै राजनीतिक दलहरु र सम्मानित सदन सबै नै हामी एक मत नै छौँ। त्यही मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ। जहाँसम्म रिपोर्टलाई बुझ्ने वा नबुझ्ने कुरा या देशभित्र आएपछि के हुन्छ भन्नेकुरा भारत भ्रमणमा गएर कुरा गरिसकेपछिको परिस्थितिमा मात्रै भन्न सकिन्छ तर म के विश्वास दिलाउन चाहन्छु भने नेपालको राष्ट्रिय हित, नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता या कुनै किसिमको भ्रम पर्न दिइनेछैन। यति विश्वास म दिलाउन सक्छु।’

प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूको प्रश्नको जवाफ दिँदै उनले सीमासम्बन्धी सबै समस्याहरु कूटनीतिक माध्यमबाट समाधान गरिने बताए।

उनले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरुलाई पुनरावलोकन गरी समसामयिक बनाउन कूटनीतिक पहलहरु जारी रहेको बताए।

उनले भने‚ ‘सीमासम्बन्धी सबै समस्याहरु पनि कूटनीतिक माध्यमबाट समाधान गरिने र छिमेकी मित्रराष्ट्रहरुसँग सौहार्द र घनिष्ठ सम्बन्ध कायम गर्ने नीति सरकारले लिएको छ। नेपाल–भारत सम्बन्धका विविध पक्षहरुलाई पुनरावलोकन गरी समसामयिक बनाउने कार्यमा कूटनीतिक पहलहरु जारी रहेको जानकारी पनि सदनलाई गराउन चाहन्छु।’

उनले नेपाल आफ्नो एक इन्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको भूमि नलिने सिद्धान्तमा अडिग रहेको स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.