|

इनरुवा : नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा २ हजार २ सयभन्दा बढीको आँखा जाँच गरिएको छ।

नुरदुबई फाउन्डेशनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत २ हजार १९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतीबिन्दुको समस्या देखिएको छ। 

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रक्षा पन्तले बुधबारसम्ममा १५४ बिरामीको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइन्।

यही जेठ १ र २ गते देवानगञ्जमा सञ्चालित उक्त शिविरमार्फत दृष्टिदोष भएका ९१९ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो। 

विराटनगर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले शिविरमा मोतिबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए।

सो अवसरमा आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन भई बस्न बाध्य  बिरामीले आफ्नो घरआँगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका थिए।

अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाका र सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको बताए। 

विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.सुमित मिश्र र डा. प्रीति अग्रवाल नेतृत्वको टोलीले शिविरमा आँखा परीक्षण र उपचार गरेको थियो।

नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत हाल २ आँखा अस्पताल र ३१ आँखा उपचार केन्द्र सञ्चालनमा छन्। 

सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा जाँच गरी १ लाख ३१ हजार ८४६ जनाको शल्यक्रिया गरिएको थियो।

स्थापनाकालदेखि सन् २०२२ सम्म यो संस्थामार्फत १ करोड २४ लाख ३० हजार ४७६ जनाको आँखा जाँच गरी २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरिएको छ।

सन् २०२२ मा १५४  निःशुल्क आँखा शिविर सञ्चालन गरी ६ हजार १३० जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रियासमेत गरिएको थियो।

नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य एवं विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले सङ्घले सन् २०३० सम्म देशका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहीअनुरूप अहिले काम अगाडि बढिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.