|

दाङ : लुम्बिनी प्रदेशमा दोस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ। प्रदेशका नवनियुक्त मन्त्रीले प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा सोमबार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराए।

प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका १/१ जनालाई थपेर मन्त्रिपरिषद विस्तार तथा कार्यविभाजन गरेका छन्। 

नेपाली कांग्रेसका राजु खनाल,  जसपाका भण्डारीलाल अहिर र जनमतका चन्द्रकेश गुप्तालाई मुख्यमन्त्री चौधरीले नयाँ मन्त्री नियुक्त गरेका हुन्। उनले यसअघि नियुक्त भएका विनाविभागीय मन्त्रीहरूको पनि जिम्मेवारी तोकेका छन्। 

खनाललाई स्वास्थ्यमन्त्री, अहिरलाई कृषि तथा भूमि ब्यवस्थामन्त्री र गुप्ता सामाजिक विकासमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्म अर्याल बेल्बासेले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।

लोसपाका विनाविभागीय मन्त्री सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी दिइएको छ। 

केही दिनअगाडि माओवादी केन्द्रका धनबहादुर मास्की अर्थमन्त्री बनेका थिए। यससँगै दोस्रो पटक मन्त्रिपरिषद विस्तार भए पनि अझै पूर्णता भने पाउन सकेको छैन।

मुख्यमन्त्री चौधरीसँग अझै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय रहेका छन्। यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथग्रहण गर्दै ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए।

नेपाली कांग्रेसका मुख्यमन्त्री चौधरी नेतृत्व सरकारलाई कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्र एक सांसद गरी ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ।

मुख्य न्यायाधिवक्ताले पनि लिए शपथ

लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता प्राडा बुद्धबहादुर थापाले पनि सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थापालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्य न्यायाधिवक्ता थापालाई आज उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले प्रदेश प्रमुखकै कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका थिए।

बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराउँदै आएका थापा नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन्। राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापा कानुनमा स्नातक हुन्।

उनलाई मुख्यमन्त्री चौधरीले सोमबार मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि सिफारिस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.