|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले श्रम विभाग कता छ भन्दै प्रश्न गरेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहमा उनले यस्तो प्रश्न गरेका हुन्। उनले वैदेशिक श्रमसम्बन्धी सबै काम पहिला श्रम विभागले गर्ने भए पनि अहिले त्यस्तो नभएको भन्दै गुनासो गरेका हुन्। विभाग कमजोर हुँदा त्यसको भार मन्त्रालयमा परेको बताए।

उनले भने‚ ‘देशमा श्रम विभाग छ, मुलुकभित्रको श्रम र श्रमिकको अवस्था के छ? श्रम विभाग अहिले कता छ भनेर मैले भन्न हुने कि नहुने थाहा छैन तर यो कमजोर अवस्थामा छ। त्यसैले मैले यसको नाम नै वैदेशिक मन्त्रालय राखिदिऔँ कि क्या हो भनेको हुँ।’

यही विषयलाई मन्त्रीले त वैदेशिक रोजगार मन्त्रालय बनाउन खोज्यो भनेर आलोचना गरिएको बताए।

उनले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताए। मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तरराष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताए। उनले श्रमको क्षेत्रलाई सुव्यवस्थित रूपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमिकका लागि राम्रो अवसर हुने बताए।

मन्त्रीले भने, ‘हामीले श्रम क्षेत्रलाई मर्यादित, सम्मानित र सुरक्षित बनाउनुपर्छ। सरकार र मन्त्रालयको उद्देश्य पनि त्यही हो। मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने र यसलाई सुव्यवस्थित हिसाबले सुरक्षित र भरपर्दो हिसाबले अघि बढाउने हो भने सबैको राम्रो छ।’

उनले श्रमको ग्लोबलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ शिराबाट अघि बढाउन सहयोग पुग्ने बताए। 

श्रमिकले पाउने सुविधा र समस्या हेर्नुपर्नेमा अहिले मन्त्रालयले धेरैभन्दा धेरै वैदेशिक रोजगारकै मात्रै कुरा गरिरहेको भन्दै चिन्ता व्यक्त गरे।

मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे। उनले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको छ र १० दिनभित्र ऐन परिमार्जनको खाका बनाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.