|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्।

जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले आइतबार अपराह्न आफ्नै सरकारी कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग सुझाव लिएका हुन्। आफूले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग भारत भ्रमणबारे सुझाव लिएको प्रधानमन्त्री दाहालले बताए। उनले सबैले राष्ट्रको हितमा केन्द्रित भएर भारतसँग छलफल गर्न सुझाव दिएको पनि बताए।

प्रधानमन्त्री दाहालले भने, ‘भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, सबै दलका नेताहरू, विज्ञहरूको सुझाव सुनेँ। अरूको सुझाव आउँदै छ। सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सकारात्मक सुझाव दिनु भएको छ।’ 

छलफलका क्रममा नेताहरूले भने राष्ट्रिय हितलाई सर्वोपरी ठानेर भारतसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए।

प्रबुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरेर अघि बढ्नुपर्ने विषयमा जोड दिन आफूले सुझाव दिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिए। उनले त्यसमा दुई मुलुकबीचको समस्या समाधान हुने कुरा उल्लेख गरिएकाले त्यसलाई ग्रहण गर्ने विषयमा भारत सहमत हुने गरी छलफल गर्नुपर्ने बताए। पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘हाम्रा सीमा समस्या छन्। व्यापार पारवहनका समस्या छन्। खुला सिमानाका समस्या छन्। यी सबैलाई एकमुष्ट समाधान गर्न मेरो पालामा सुरु भएको इपीजी (प्रवुद्ध व्यक्ति समूह) र पछि केपी ओलीजीको पालामा गठन भएको त्यसको प्रतिवेदन ग्रहण गर्दा नै सबैभन्दा राम्रो हुन्छ। त्यो भयो भने एकमुष्ट रूपमा धेरै समस्या हल हुन्छन्।’

राष्ट्रिय हितमा दृढतापूर्वक उभिएर भारतसँग कुरा गर्न आफूले सुझाव दिएको पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। उनले इपिजी प्रतिवेदन बुझ्ने कुरामा पनि भारतसँग जोड दिएर छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको बताए। ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग नेपालले उपयोग गर्न पाउने गरी छलफल गर्न सुझाव दिइएको जानकारी दिए।

राष्ट्रिय हितलाई सर्वोपरी ठानेर भारतसँग कुरा राख्न प्रधानमन्त्रीलाई सुझाव दिइएको पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए। उनले विगतमा गरिएका समझदारीको कार्यान्वयन र व्यापार घाटा कम गर्ने विषयमा पनि भारतसँग गम्भीरतापूर्वक छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिए।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालको आत्मसम्मानमा चोट नपु¥याउने गरी भारतसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिइएको बताए। उनले आपसी हितका विषयमा कुरा गरेर विश्वासको वातावरण सृजना गर्न पनि आफूले प्रधानमन्त्रीलाई परामर्श दिएको बताए।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले दुई मुलुकबीचको सीमा विवाद समाधान हुने गरी तथ्यसहित भारतसँग छलफल गर्न आफूले सुझाव दिएको बताए।

प्रधानमन्त्री दाहालले जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्दै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.