|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रबारे मिथ्या प्रचार भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा राज्य स्रोतमाथिको हालीमुहाली गुमेकाबाट मिथ्या प्रचार शुरु गरिएको भन्दै सजग रहन आग्रह गरेका हुन्।

अध्यक्ष ओलीले गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने तर्क गरेका छन्। ‘गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ’, उनले भनेका छन्, ‘जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायको बीचमा विभेद र बहिष्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस्।’

गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सव भएको उल्लेख गर्दै उनले जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन रहेको बताएका छन्।

अध्यक्ष ओलीले गणतन्त्र नेपाली जनताको बलिदान र संघर्षको सफलताको दिवस भएको भन्दै गणतन्त्र स्थापनापछिका त्रुटि भएका र तिनलाई सच्याउनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.