|

काठमाडौं : मेलम्ची खानेपानी भोलि (मंगलबार)देखि पुनः काठमाडौं उपत्यकामा पठाउने तयारी गरिएको छ। छलफल गरेर भोलिबाटै पानी पठाउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिने भन्दै जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन बन्द हुने जानकारी दिएको थियो। त्यहीअनुसार अहिले मेलम्ची पानी बन्द गरिएको छ। अहिले बाढीले क्षति पुगेको संरचनाको निर्माण कार्य तीव्र रुपले भइरहेको विकास समितिका सिनियर इन्जिनियर पदम कुँवरले जानकारी दिए। 

‘काम भइरहेको छ,मेलम्चीको पानी चाहिँ छलफल गरेर भोलिदेखि नै पठाउने तयारी भइरहेको छ,’उनले थाहाखबरसँग भने। उनका अनुसार उपत्यकामा पठाए पनि मर्मतको काम भने भइरहने छ। पानी भने वर्षायाममा नियमित उपत्यकामा पठाइने छ।

तर, बाढीपहिरोको ठूलो जोखिम भएमा पानी बन्द गरिने छ। ‘मर्मतको काम यति सकियो,यति बाँकी छ भन्ने हुँदैन,काम भइरहेको छ,यो कार्य हुँदै जान्छ,पानी भने पठाइन्छ,’उनले भने।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार मेलम्ची नदीको पानी पथान्तरण गर्नु परेका कारण सुरुङको रेक्टिफिकेशनका कार्य एवं २०७८ सालको बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाको निर्माण गर्न पानी बन्द गरिएको हो। यो थप संरचना बनेकाले वर्षामा पनि पानी उपत्यकामा ल्याउन सकिने छ। 

२ देखि ३ दिन बिराएर वितरण गरिने

मेलम्चीको पानी बन्द भएपछि अहिले यही स्रोतबाट उत्पादन भएको पानी उपत्यकामा वितरण गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार यही स्रोतबाट दैनिक १० देखि ११ करोड लिटरसम्म पानी उत्पादन हुन्छ।  

यही पानी अहिले ३ दिनदेखि १० दिन बिराएर वितरण गरिएका केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले जानकारी दिए। उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। मेलम्चीको पानी नियमित आएपछि २ देखि ३ दिन बिराएर ग्राहकलाई पानी वितरण गरिने उनको भनाइ छ। केयुकेएलका १ लाख ६० हजार ग्राहक छन्। ६० हजार घर दुरीमा भने नयाँ धारा जडान गरिएको छ। 

पहिलो पटक मेलम्चीकाे पानी उपत्यकाभित्र २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो। पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण भयो। तर, ०७८ सालको असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो।

तर सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गतेबाट मेलम्चीको पानी ल्याउन बन्द गर्‍याे। बर्खा सकिए पनि सरकारले समयमा पानी ल्याउन सकेन। बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी सरकारले काठमाडौं ल्यायो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो।

उता,मेलम्ची खानेपानी बन्द हुँदा यता, ट्यांकरको पानी माग बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अनुसार मेलम्ची पानी आउँदा ट्यांकर पानीको माग घटेर ५० प्रतिशत आइपुगेको थियो। अहिले ह्वात्तै बढेर ट्यांकरको पानीमा माग ७५ प्रतिशत पुगेको छ।

काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेलले अहिले २५ प्रतिशतले ट्यांकरको पानीको माग बढेको बताए। उक्त पानी उपभोक्ताहरूले घरायसी प्रयोजनको लागि प्रयोग गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.