|
सांकेतिक तस्विर

सोलुखुम्बु : विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनमा नेपाली धावकले बाजी मारेका छन्।

सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चेसम्म (४२ किलोमिटर) को खुला फुल म्याराथन तीन घण्टा ४८ मिनेट ५४ सेकेण्डमा पार गर्दै नेपालका सुमन कुलुङ प्रथम भए। यो उनको तेस्रो पटकको जीत हो।

यति नै दूरी तीन घण्टा ५७ मिनेट ५३ सेकेण्डमा पार गर्दै नेपालका दलबहादुर कुँवर दोस्रो एवं चार घण्टा दुई मिनेट तीन सेकेण्ड लगाउँदै नेपालकै उमेश राई तृतीय भए। ७० किलोमिटरको एक्सट्रिम अल्ट्रा विधामा ८ घण्टा ३८ मिनेट ९ सेकेण्ड लगाउँदै नेपालका तीर्थबहादुर तामाङ पहिलो, नेपालकै तिलकबहादुर सुनुवार ९ घण्टा २ मिनेट ३१ सेकेण्ड लगाउँदै दोस्रो एवं नेपालकै किरन कुलुङ ९ घण्टा २६ मिनेट ३८ सेकेण्ड लगाएरतेस्रो भए।

२१ किलोमिटरको हुने हाफ म्याराथनमा भारतकी सम्झना राई प्रथम भइन्। उनले तीन घण्टा १९ मिनेट ४८ सेकेण्डमा यो दूरी पार गरिन्। अष्ट्रेलियाका एम्मा विलियम्स तीन घण्टा २१ मिनेट ४१ सेकेण्ड लगाउँदै दोस्रो तथा रुसका अलेक्जेण्डर ब्रुट्सेव तीन घण्टा २३ मिनेट ५४ सेकेण्ड लिँदै तेस्रो भए।

४२ किलोमिटरको विदेशी विधातर्फ चार घण्टा ४७ मिनेट १० सेकेण्ड लगाउँदै अमेरिकाका टेट पोल्म्यान पहिलो, छ घण्टा छ मिनेट ५१ सेकेण्ड लगाउँदै अष्ट्रेलियाका कियरा बेस्म्यानो दोस्रो तथा छ घण्टा ३० मिनेट ४३ सेकेण्ड लगाउँदै चीनका म्यथ्यु विलियम तेस्रो भए। 

४२ किलोमिटरकै महिला विधामा नेपालकी मञ्जु रावत पाँच घण्टा २८ मिनेटमा पार गर्दै पहिलो भइन्। नेपालकै लाक्पा मिङ्मा शेर्पा पाँच घण्टा २८ मिनेट ३६ सेकेण्ड लगाउँदै दोस्रो एवं दिलकला कुलुङ पाँच घण्टा ३१ मिनेट ५४ सेकेण्ड लगाउँदै तेस्रो भएको कार्यक्रम संयोजक शिशिर पाँडेले जानकारी दिए।

यो पटक ६९ नेपालीसहित २८ देशबाट २०४ जनाले भाग लिएको आयोजक हिमालय एक्स्पिडिसनका संस्थापक विक्रम पाँडे काजीले बताए। म्याराथनमा अमेरिका, क्यानाडा, बेल्जियम, अस्ट्रेलिया, जर्मनी, भारतलगायत देशबाट धावकले भाग लिएको उनले जानकारी दिए। प्रतियोगितामा १७ वर्षदेखि ७२ वर्ष उमेरकाले पनि भाग लिएका थिए।

 सगरमाथामा पहिलोपल्ट मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेको अवसर पार्दै १९ वर्षदेखि एभरेष्ट म्याराथन हुँदै आएको छ। तेन्जिङ र हिलारीले सन् १९५३ मे २९ पहिलोपल्ट सगरमाथामा पाइला टेकेका थिए। हिमालय आरोहणको ७०औँ वर्षको विशेष अवसर पारेर यो पटक म्याराथनबाहेक अन्य कार्यक्रम पनि गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.