आर्टसम्बन्धी पढाइ र मध्यविन्दुमा खोल्ने भएकाले आवश्यक : समिति

|

काठमाडौं : सरकारले भएका विश्वविद्यालय व्यवस्थित गर्न नसकिरहेको बेला नयाँ विश्वविद्यालय खोल्ने तयारी गरेको छ। नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्भवतः आज(शुक्रबार) विधायन व्यवस्थापन समितिको बैठकमा पारित हुँदै छ।

विधायन समितिका सदस्य अनिता देवकोटाले आज (बिहीबार) को छलफलपछि पारित गर्ने तयारी रहेको जानकारी दिइन्। सरकारले ल्याएको उक्त प्रस्तावको आलोचना पनि उत्तिकै छ। तर समितिका सदस्यहरू विभिन्न कारणले पनि यो विश्वविद्यालय खोल्नु आवश्यक रहेको तर्क राख्छन्।

आर्टसम्बन्धी पढाइ र मध्यविन्दुमा खोल्ने भएकाले आवश्यक : समिति 

समितिका सदस्य गंगाकुमारी वेलबासे उपत्यकाबाहिर नेपाल विश्वविद्यालय खोलिने भएकाले आवश्यक रहेको तर्क गर्छिन्।

उनले भनिन, ‘यो विश्वविद्यालय मध्यविन्दु नगरपालिकामा सञ्चालन गर्ने भनिएको छ, त्यस्तै आर्टसम्बन्धी पढाउने भनिएको छ, अरूमा राम्रो व्यवस्था नभएकाले यो सञ्चालन आए विदेशिने विद्यार्थीहरू यही रोक्न सकिन्छ कि भन्ने हिसाबले यो विश्वविद्यालय खोल्नु आवश्यक छ।’

तर भएका विश्वविद्यालय पनि सुधार गर्नुपर्ने आवश्यक रहेको उनले बताइन्। ‘सरकारले विश्वविद्यालय खोल्ने मात्रै होइन सञ्चालन गर्ने ट्रेन बदल्नुपर्छ, राम्रो संरचना बनाउनुपर्छ, बालबच्चालाई विदेशभन्दा पनि यही दक्ष बनाउनुपर्छ, गुणस्तरीय शिक्षाको व्यवस्था गरी रोक्नुपर्छ,’ उनले भनिन्।

सरकारले विश्वविद्यालय खोल्नेमात्र नभइ भएका भद्रगोल विश्वविद्यालयको पनि सुधार गर्दै जानुपर्ने उनले बताइन्। ‘जनप्रतिनिधि पनि आर्टसम्बन्धी पढाइ आवश्यक रहेको बताएका छन्, थप छलफल हुँदै जाला,’ उनले भनिन्, ‘तर राज्यले अहिले भएका विश्वविद्यालयको समस्या समाधान, सुधार्न पहल गर्नुपर्छ।’ 

समितिका सदस्य देवकोटाले पनि उपत्यका बाहिर यो विश्वविद्यालय खोल्दा अध्ययन गर्ने विद्यार्थीहरूलाई फाइदा पुग्ने भएकाले खोल्न आवश्यक देखिएको धारणा राखिन्।

उनले भनिन्, ‘अहिले १३ वटा विश्वविद्यालय छन्, यी अस्तव्यस्त छन् तर यो विश्वविद्यालयले राम्रो, भरपर्दो र गुणस्तरीय शिक्षा दिन सक्यो भने आफ्नै मुलुकमा विद्यार्थीहरू पढ्छन, यसका लागि आवश्यक सैद्धान्तिक छलफल पनि भइसकेको छ।’

उनका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित मध्यविन्दु नगरपालिकाकामा यो विश्वविद्यालय बनाउन स्थलगत अनुगमन पनि भइसकेको छ। त्यहाँका स्थानीयवासीले जग्गा दिन र आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। 

समितिकै अर्का सदस्य नारायणदत्त मिश्रको धारणा भने फरक छ। तर पनि सहमति जनाउन परेको उनले बताए।

‘मेरो व्यक्तिगत धारणा त भएका विश्वविद्यालय पहिला सुधार गरौँ, थप्ने होइन भन्ने छ तर साथीहरूको कुरामा साझा सहमति भएपछि आफू पनि जनाउनै पर्‍याे, आज त यो विधेयक पारित पनि हुन्छ होला,’ उनले भने।

शिक्षाविद् भन्छन् : नयाँ खोल्ने होइन, पुरानोलाई व्यवस्थित बनाऔँ

अहिले सञ्चालनमा रहेका विश्वविद्यालयहरूमा चरम बेथिति छ। अहिले नेपालमा १४ वटा विश्वविद्यालय सञ्चालनमा छन्। तीमध्ये त्रिभुवन विश्वविद्यालय (त्रिवि), नेपाल खुला विश्वविद्यालयलगायत विश्वविद्यालयहरू चरम बेथितिले ग्रस्त छन्। अझ त्रिविले त वर्ष दिन बितिसक्दा पनि परीक्षा नतिजा सार्वजनिक गर्दैन।

त्यसैले नतिजाको लागि विद्यार्थीहरू आन्दोलन गर्न बाध्य छन्। राजनीतिक हस्तक्षेप छ। त्यसो त शिक्षाविद्हरू नयाँ विश्वविद्यालय खोल्नुभन्दा पनि अहिलेका विश्वविद्यालय व्यवस्थित गरी गुणस्तरीय शिक्षा दिन सरकारलाई सुझाव दिन्छन्।

शिक्षाविद् प्राडा टंकनाथ शर्माले भएका विश्वविद्यालय राज्यले सम्हाल्न नसकेकाले अर्को नयाँ खोल्न नहुने बताउँछन्। उनले भने, ‘नेपाल विश्वविद्यालय खोल्ने भनेको ठट्टा हो, भएको सम्हाल्न राज्यले सकेको छैन, भद्रगोल छन्।’

उनले नयाँ विश्वविद्यालय मात्रै खोलेर शैक्षिक सुधार नहुने बताए। ‘विद्यार्थीलाई जागिर छैन, त्यसैले विद्यार्थीहरू विदेशिएका छन्, विश्वविद्यालयहरूमा विद्यार्थी संख्या घट्दै छन्, अनि नयाँ विश्वविद्यालय खोलेर चाहीँ के काम?, पहिला भएका विश्वविद्यालयलाई व्यवस्थित गरी गुणस्तरीय शिक्षा दिउँ न,’ उनले भने। 

शिक्षाविद् प्राडा विनयकुमार कुसियत पनि सरकारले नयाँ विश्वविद्यालय खोल्नेभन्दा पनि पहिला सञ्चालनमा रहेका यी विश्वविद्यालयको व्यवस्थापन पहिले गर्नुपर्ने बताए।

‘पहिला भएका विश्वविद्यालयको अनेकन् बेथिति हटाऔँ, यीनको व्यवस्थापन गरौँ, आफ्ना मान्छेलाई पद दिलाउन राज्यले हचुवाको भरमा विश्वविद्यालय नखोलौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.