|

धनगढी : कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय माग गर्दै निरन्तर आन्दोलन चर्किरहेको छ। भोलि सुदूरपश्चिम बन्द गरेर आन्दोलन घोषणा गरिएपछि आन्दोलन थप सशक्त बनेको हो।

संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै भइरहेका आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार आमहड्ताल र सुदूरपश्चिम बन्दको घोषणा गरिएको बताए।

उनका अनुसार उक्त दिन प्रदेशभर अत्यावश्यक बाहेक कुनै पनि सेवा सञ्चालन गर्न पाइनेछैन। संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ले गेटा मेडिकल विश्वविद्यालय बनाउन सरकारले गरेको निर्णय कार्यान्वयनका लागि दबाब दिन आमहड्ताल गर्न बाध्य भएको बताए।​

गेटामा विश्वविद्यालय बनाउनुपर्ने भन्दै नेकपा एमाले र संघर्ष समिति संघर्षरत छन्। उनीहरूले निरन्तर प्रदर्शन तथा विरोध गरिरहेका छन्। उनीहरूले मेडिकल माफियाको प्रभावमा परेर मन्त्रिपरिषद्को निर्णयविपरीत सरकारले गेटामा विश्वविद्यालयको सट्टा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै सरकारविरुद्ध आन्दोल्न छेडेका हुन्।

२०७९ माघ २९ मा सरकारले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर २०८० जेठ १५ मा ल्याइएको बजेटमा भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेपछि विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन भएको हो।

यहाँ शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको छ। गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित संघर्ष समितिले विश्वविद्यालयको बोर्ड नै राखेको छ।

गेटा मेडिकल कलेजको मुख्य गेटमा बिहीबार संघर्ष समितिले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बोर्ड राखेको हो।

यस्तै नेकपा एमालेले पनि सडक आन्दोलनलाई निरन्तरता दिएको छ।

६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित गेटामा निर्माण भएको संरचना साढे दुई वर्षदेखि अलपत्र छ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि २९ वटा संरचना तयार भएको छ भने ३ वटा निर्माणाधीन छ। तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ। यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.