|

काठमाडौं : शनिबारको दिन।  बिहान ८ बजे। स्थान विश्वभाषा क्याम्पस। जम्मा भएका थियौँ ३२ जना विद्यार्थी, जो अंग्रेजी संकायका थिए। काठमाडौं भागदौड र दैनिक जीवनका व्यस्तताको बोझलाई हलुका गर्न पदयात्राको योजनामा कुलेखानीको यात्रा तय गरेका थियौँ। 

​विभिन्न स्थानबाट जम्मा हुन् र शिक्षक क्याम्पस गेटमा थियौँ। यात्रा पहिल्यै तय भइसकेको थियो। लामो छलफलपछि विकल्प कुलेखानी निस्किएको थियो। कुलेखानी केवल नाम मात्र थिएन, नेपालको महत्वपूर्ण स्थान थियो, जहाँ जलविद्युतका लागि मानव निर्मित ठूलो ड्याम निर्माण छ। जसलाई इन्द्रसरोवर भनिन्छ। उक्त स्थान हेर्नु र जान्नु हाम्रा लागि प्रिय नहुने कुरै थिएन।  

शनिबार बिहान गएर शनिबारै साँझसम्ममा आइपुग्नै पर्ने थियो। आइतबार काममा हाजिर हुनुपर्ने बाध्यता छ। किनभने रोजीरोटीका लागि जागिरे जिन्दगीमा सबैजना टाँस्सिएका छन्। 

सामान्यतया पत्रकारहरूलाई बिदा मिलाउन गाह्रो हुन्छ। तैपनि सातामा बल्लतल्ल एकदिन फुर्सद निकाल्ने प्रयास भने रहन्छ। काम नभएकाले निस्कने फुर्सद मिलेको होइन त्यो, काम बिताएर पनि निस्किएको समयलाई फुर्सद या बिदा मान्नुपरेको हो।

कहिलेकाहीँ बिदा बसौँ भन्दा पनि बीचैमा काममा कुद्नुपर्ने बाध्यता नौलो लाग्न छोडेको पत्रकारिता सुरु गरेदेखि नै हो। बिदाभन्दा काम प्राथमिकतामा पर्न थालेको पनि त्यसैबेलादेखि हो।

अब त यसैमा अभ्यस्त भई पनि सकियो। बचेखुचेको समयलाई परिवारले पनि व्यग्रतापूर्वक पर्खिरहेकै हुन्छ। सरसफाइ, परिवार र घुमघाम बिदाका मुख्य काम हुन्छन्। जे होस् टोली जम्मा हुन खास लामो समय लागेन। जम्मा भइसकेपछि कुर्नपर्ने केही थिएन। कुलेखानीका लागि जम्बो टोली अघि बढ्यो। यात्रा लामो तर समय कम भएकाले बसले थानकोट चेकपोस्टबाट नयाँ बनेको बाटो समात्यो। यसै पनि तराईमा हुर्किएकाहरूलाई पहाडको बाटो भनेपछि डर लाग्छ। त्यहीँ माथि कच्ची सडक। बसको सिटले घरी यता ढल्काइदिन्थ्यो, घरी उता पल्टाइदिन्थ्यो। बसले कति हल्लाउने भन्ने कुरा चालकमा पनि निर्भर हुँदो रहेछ। खाल्डाखुल्डीमा बस कुदाइरहेका चालकलाई अलि बढी अनुभव हुने रहेछ, अनि कुदाइरहेको बाटोमा चालकलाई धेरै कुरा थाहा हुने रहेछ। भीरको बाटो नयाँ, यात्रु नयाँ, चालक नयाँ, अनि त के चाहियो र! बसले बाहिरबाहिर मात्र हल्लाएको थिएन, बेलाबेला मुटु पनि हल्लाइदिन्थ्यो। चालकको उमेर पनि यसको एउटा कारक थियो।

उनको उमेरसँगै अनुभव पनि कम भएको लख काट्न मुस्किल थिएन। धुलाम्य सडक। बेलाबेला धुलो आएर छ्याप्पै आँखा छोपिदिन्थ्यो। खल्ड्याङ-खुल्डुङका त कुरै नगरौँ। जे होस्, सकुशल चन्द्रागिरि पुगियो। त्यहाँबाट देखिने काठमाडौं उपत्यका र वरपरका डाँडाकाँडा हेर्न छुटाउने कुरा भएन। काठमाडौंलाई काठमाडौंबाट हेरिनु र परबाट हेरिनु फरक छ। ठूला घर। मान्छेका भीड। हजारौं सपनाले काठमाडौंको दैनिक चलेको छ। 

उपत्यकाका घना बस्ती नियालियो। कंक्रिटको घना जंगल पनि हेरियो। केही बाटो नयाँ र अप्ठेरो पनि भएकाले चित्लाङबाट पदयात्रा सुरु गर्ने योजना थियो। समय धेरै थिएन। जानुपर्ने थियो पदयात्रा।

मन लागि नलागि हामीले चन्द्रागिरिलाई पछाडि पार्दै चित्लाङतर्फ लाग्यौं। चित्लाङ पुगेपछि गाडीबाट उत्रिएर मार्खु जाने, त्यहीँ दिउँसोको खाना खाने व्यवस्थापन भइसकेको थियो। हामीले गाडीलाई चित्लाङमै छोड्यौँ, अनि सुरु भयो पदयात्रा।

सहरका सडकमा हिँड्नु र गाउँका गोरेटामा पदयात्रा गर्नुको आनन्द तुलनीय हुँदैन । बीचबीचमा भेटिने स्थानीय र उनीहरूको आतिथ्यताले मन यसै यसै पुलकित बनिरह्यो ।  गाडीबाट उत्रिएर अलिकति मात्र हिँडेका के थियौँ, सानो खोलाको छेउमा मुलाको चाङ देखियो। त्यो चाङ धुँदै गरेकी एकजना दिदी भेटिनु भयो। चित्लाङ तरकारी खेतीका लागि प्रसिद्ध रहेछ। चित्लाङको मुला उत्तिकै चर्चित छ। केही साथीहरूले मुला खाने कुरा गरिरहेका थिए। मलाई भने मुला त के खानु! हाइकिङ आएको मान्छे! भनेजस्तो पनि लागेको थियो।

मुलाका लागि चर्चित ठाउँ, त्यहीँमाथि यत्रो चाङ। यहाँ आएर पनि चाख्न पनि नचाखी त के जानु? भन्ने लाग्यो। पोखरा पुगेर फेवातालम नपुग्नु जस्तो। 

त्यतिकैमा हाम्रो यात्रा लागि अभिभावकत्व निभाइरहनु भएका सुशिल सर त अघि मुला लिनका लागि पुगिसक्नु भएको रहेछ। 

एक टुक्रा खानेबित्तिकै रसिलो स्वाद थाहा भइहाल्यो। यसपछि कोही साथीहरू खान थाले। कोही खाँदाखाँदै फोटो खिच्न थाले। कोही सेल्फी, कोही काटेको मुलाको फोटो खिच्ने, कोही भिडियो नै खिच्ने, कोही मुला काटेर बाँढ्ने। कोही साथीहरू मुलासँग टिकटक भिडियो बनाउने। के के, मिलेसम्म सबै। चिसोचिसो मौसम, मुला र बाटोको संयोग बिछट्ट थियो।

मकवानपुर जिल्लाको ऐतिहासिक स्थानमध्ये चित्लाङ पनि एक हो। समुद्री सतहबाट १ हजार ८३३ मिटर उचाइमा रहेको यो गाउँ हरियाली र प्राकृतिक सौन्दर्यको विम्ब रहेछ। दृश्यावलोकन गर्दै हाइकिङ गर्नेको प्रमुख गन्तव्यमा बनिसकेको रहेछ।

काठमाडौं उपत्यकाबाट नजिकैपर्ने भएकाले बिदा मनाउन, हाइकिङ र घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढिरहेको स्थानीयको अनुभव छ। मुला खाएपछि हामी अघि बढ्यौँ। चित्लाङ पुग्दा होमस्टे र रिसोर्टमा गरिने न्यानो स्वागतले यात्राको थकान पनि क्षणभरमै मेटिएको आभास भयो।

थाहा नगरपालिका-१० मा रहेको चित्लाङ गाउँ लिच्छवीकालमै परिचय बनाएको ग्रामीण क्षेत्र हो। काठमाडौंदेखि तराई आउजाउ गर्नेहरू चन्द्रागिरि डाँडो पार गरी चित्लाङको बाटो हुँदै आउजाउ गर्ने कुरा इतिहासका पुस्तकमा पढ्न पाइन्छ।

मल्लकालीन राजा र राणाहरू पनि तराई आउजाउ गर्न चित्लाङकै बाटो प्रयोग गर्थे। आउजाउ गर्दा रात परे बास बस्ने ठाउँको परिचय बनाएको स्थानीय बुढापाका बताउँछन्। 

चित्लाङ गाउँ राजा अंशुवर्माले गोठालाहरूलाई उपहारमा दिएको किंवदन्ती रहेछ। पदयात्राको मुख्य गन्तव्य पुग्न बाँकी थियो। चित्लाङ्गबाट करिब ५.३ किमी पदयात्रा गरेर मोटरबाटो छोडेर गोरेटो बाटो पछ्याउन थाल्यौँ। जहाँ गाउँका मानिसहरू दैनिक घाँसदाउराका लागि प्रयोग गर्ने बाटो हिँड्न थाल्यौँ। पहाडी ग्रामीण क्षेत्रमा हुर्किएका साथीहरूलाई यसले नोस्टाल्जिक बनाएको हुनुपर्छ।

खोल्सासँगै चिसो हावाका साथमा  घना जङ्गलले हामीलाई स्वागत गर्‍यो। सल्लाका रुख देखेपछि कुनै मित्रले सुरिल स्वरमा गाउन थाले, 'सल्ला धुपैले, सानु निद्रामा ब्युझायो तिम्रो रुपैले'  हामीलाई के चाहियो। ताली मार्ने हात छन्। हामीले साथ दियौं। ठाउँठाउँमा फुलेका रंगिचंगी जंगली फूल, हरिया वनपाखा देख्दा मनमा निकै आनन्द हुने। उपत्यकाको धूलोधूवाँबाट टाढा, शान्त र हराभरा वातावरणको अनुभूति लिँदै उक्त गन्तव्यस्थलमा पुग्दाको आनन्दको सीमा थिएन। केही समयपछि हामी मार्खु पुग्यौँ।

करिब दिउँसोको १ बज्न लागेको थियो। भोकले हतारिएका हामी हतारहतार खाना खानतिर लाग्यौँ। त्यत्रो होहल्ला गर्दै आएको हाम्रो टोली खाना खाने समयमा शान्त थियो। मार्खुमा खाना खाएर एकैछिन विश्राम गर्‍यो टोलीले। धेरै जना गलिसकेका थिए।

विश्रामका लागि लामो समय थिएन। कुलेखानी ड्यामतिर जाने यात्रा फेरि सुरु भयो। मार्खु र कुलेखानी बीचको गहिरो खोँचमा बाँध बाँधेर नदीनालाको पानी सङ्कलन गरेर सञ्चालन भएको कुलेखानी जलविद्युत् परियोजनाको जलाशय इन्द्रसरोवर आफैँमा एक नमूना पनि हो। अब कति बेला कुलेखानी पुगिएला भन्ने मात्र थियो। खुट्टा दुख्न थालिसकेका थिए। यसै पनि हिँड्ने अभ्यास कम थियो। डाँडाकाँडा हिँड्ने बानी थिएन।

खाना खाइसकेपछि निद्राले सम्झिरहेको थियो। इन्द्रसरोवरको ७ किलोमिटर क्षेत्रमा फैलिएको मानव निर्मित कुलेखानी ड्याममा आन्तरिक पर्यटकको भिड देखिन्थ्यो। त्यहाँका माछाको स्वाद लिन पर्यटक (आन्तरिक) लालायित देखिन्थे। 

पानीले भरिएको त्यति ठूलो मानवनिर्मित ताल म पहिलोपटक नजिकबाट नियालिरहेकी थिएँ। सुनेको कुलेखानी र देखेको कुलेखानीमा धेरै फरक थियो। नीलो पानी अनि त्यही पानीमा खेलिरहेका रङ्गिचङ्गी माछाहरू।

सिरिरी चलेको हावाले ड्यामको पानीमा बनेका सानासाना छालले पैदा गरेको तरङ्गमा हराउन समय लागेन। त्यहाँ प्रवेश गर्न नेपाली सेनाको अनुमति लिनुपर्ने रहेछ। हामी भित्र छिर्‍यौँ। भित्र फोटो भिडियो खिच्न मनाही रहेछ। एकैछिन पानीका छाल हेर्दै ध्यान गरौँ भनेर साथीको प्रस्ताव थियो। हामी पानीको छालसँगै केही समय ध्यानमा पानीका सुन्दर दृश्य आकर्षित गरिरहेको भइरहेका थियौँ।

​ थुप्रै बेर पानीका दृश्यमा हराइएछ। मलाई त्यहीँ हराउने भोक मरिसकेकै थिएन। पानीले भरिएको इन्द्रसरोवरबाट टाढिएर कमिला कुदिरहेका पोखरीयुक्त कोलाहलमय काठमाडौं फर्कने समय भइसकेको रहेछ। इन्द्रसरोवरबाट इन्द्रचोक नजिकै आएर हाम्रो यात्रा समापन भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.