|

रौतहट : केही दिनदेखि तराईमा प्रचण्ड गर्मीले जनजीवन कष्टकर बनेको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन कष्टकर भएको हो।

लामो समयसम्म पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्दै आएका रौतहटका किसान चिन्तित बनेका छन्। खेती किसानीबाट जीविका चलाउँदै आएका उनीहरूले लगाएका तरकारीका बोट सुक्दै गएको देखेर चिन्तित परेका हुन्।

लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो। खेतबारीमा भण्टा, परबल, घिरौला, झिमनी, भिण्डी, करेला, बोडी, फर्सी र लौकासहितका तरकारीका विरुवा पानीबेगर सुकिरहेका छन्।

चन्द्रपुर नगरपालिका–१० का तरकारी किसान चन्देश्वर साहले बारीमा लगाएको ७ कट्ठाको तरकारीका विरुवा सुक्दै गएपछि चिन्तित बनेका छन्। खेतमा लगाएको तरकारीको बोट सुकेपछि उनले यतिवेला घरगुजारा कसरी टार्ने होला भन्ने चिन्तामा परेका हुन्।

गत वर्ष लगाएको तरकारी निकै फस्टाएको थियो तर गत कात्तिकदेखि खासै पानी नपरेको तथा एक महिनादेखि अत्यन्तै चर्को घामले जनजीवन अस्तव्यस्त पार्दा खेतमा लगाएको तरकारी घामले डढाएको साहको भनाइ छ। सिँचाइको पहुँच नभएको र आकाशे पानीको भरमा लगाएको तरकारीको बोट सुक्न थालेको साह बताउँछन्।

यता तराईमा चर्को घाम र तातो हावा चलेका कारण किसानले धान रोपाइँ गर्न बीउ समेत छर्न नपाएको वृन्दावनका किसान सुरेन्द्र पटेलले बताए।

किसानले जेठको पहिलो सत्तादेखि दोस्रो सातासम्म धानको बीउ राखि सक्नुपर्ने थियो। पानी नपरेका हुनाले र अत्यधिक घामका कारण किसानले धान रोपाइँ गर्न यो वर्ष बीउ छर्न सकेका छैनन्।

असार लाग्न केही दिन मात्र बाँकी रहँदासमेत किसानले धानको बीउ नराख्दा यो वर्ष धान रोपाइँमा ढिलो हुने किसानहरू बताउँछन्। तराईमा बढेको अत्यधिक गर्मीका कारण चाँदी नदी समेत सुकेको पाइएको छ।

चुरेबाट बग्दै चन्द्रनिगाहपुर, वृन्दावन हुँदै बागमती खोलामा सामेल भएका चाँदी खोला यतिवेला पूर्ण रूपमा सुकेको पाइएको हो। अन्य हिउँदमा तथा कुनै महिनामा नसुक्ने चाँदी खोलाको पानी सुकेपछि स्थानीय चकित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.