५०४ विद्यालयले दिए छात्रवृत्ति

|

काठमाडौं : काठमाडौं महानगरपालिकाको निर्देशनपछि धमाधम निजी (संस्थागत) विद्यालयहरूले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी नामावलीसहितको विवरण महानगरमा पठाउने गरेका छन्। महानगरपालिकाको शिक्षा विभागका अनुसार छात्रवृत्ति वितरणको विवरण दैनिक आउने गरेको छ।

महानगरपालिकाले बारम्बार छात्रवृत्ति वितरणको लागि ताकेता गरे पनि अटेर गरेपछि गत मंगलबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो। 

महानगरपालिकाले निजी विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरूलाई उपलब्ध गराउने छात्रवृत्ति सम्बन्धमा वैशाख १० गते नै परिपत्र जारी गरेको थियो।

जेठ १० गते गोरखापत्रमै सार्वजनिक सूचना जारी गरी जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी त्यसको जानकारी जेठ १६ गते कार्यालयमा पठाउन निर्देशन दिएको थियो। उक्त समयसम्म पनि छात्रवृत्ति वितरण गरी केही विवरण नपठाएपछि महानगरपालिकाले ती विद्यालयहरूको विवरण नै सार्वजनिक गरेको हो।

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सिताराम कोइरालाले अहिले धमाधम विद्यालयहरूले छात्रवृत्ति प्रदान गरी सो को विवरण विभागमा पठाउने गरेको जानकारी दिए।

‘महानगरले नाम नै सार्वजनिक गरेर चेतावनी दिएपछि बल्ल विद्यालयहरू सचेत भए,अनि अहिले धमाधम विवरण पठाउँदै छन्, यति गरेमात्रै सचेत हुने थाहा भयो,’ उनले भने। 

महानगरपालिकाले सूचना नै जारी गरेर र महानगर प्रमुख बालेन शाहले पनि सामाजिक सञ्जालमा विद्यालयहरुलाई जेठ २८ भित्र छात्रवृत्ति प्रदान गरी विवरण महानगरमा पठाउनू भनेका थिए। 

उनले भनेका थिए, ‘हामी काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनुपर्ने अधिकारको बारेमा गम्भीर छौँ, नियमअनुसार विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिनेछ।’

१०४ विद्यालयले छात्रवृत्ति वितरण गर्न बाँकी

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी कोइरालाका अनुसार ५ सय ४ निजी विद्यालयहरूले छात्रवृत्ति वितरण गरी विवरण पठाएका छन्। अब १ सय ४ विद्यालयहरूको मात्रै बाँकी रहेको उनले जानकारी दिए।

महानगरपालिकाले दिएको समयसीमा भने सकिइसकेको छ तर अहिले विद्यालयले विवरण पठाउँदै गरेकाले थप अन्य प्रकृया नथालिएको उनले बताए। ‘अब आज, भोलिसम्ममा सबै विवरण आउँछ भन्ने अपेक्षा राखेका छौँ, अहिले पनि धमाधम आइरहेको छ,’ उनले भने।

कति प्रतिशत छात्रवृत्ति वितरण गर्ने कानुनी व्यवस्था छ ?

काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा (५०) मा (निजी) संस्थागत विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ। उपदफा (१) मा (निजी) संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

‘उपदफा (१) बमोजिमको दश प्रतिशतलाई १०० प्रतिशत मानी त्यसको पचास प्रतिशत रकम महानगर शिक्षा विकास कोषमा जम्मा गर्नुपर्नेछ र बाँकी पचास प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम जेहनदार, विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ,’ ऐनमा भनिएको छ। 

यस्तै, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम (५८) मा पनि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने व्यवस्था छ।

उक्त नियममा भनिएको छ, ‘संस्थागत विद्यालयहरूले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ, विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई देहाय बमोजिमको जेहेन्दार, विपन्न,असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ।’ 

नियमावलीको नियम ५८ अनुसार यसरी छात्रवृत्ति प्रदान गर्दा छात्रवृत्ति पाएकामध्ये कम्तीमा पचास प्रतिशत छात्रा हुनुपर्नेछ। विद्यार्थीको परिवारका कुनै पनि सदस्यको नोकरी, व्यापार, व्यवसाय र आय–आर्जनको व्यवस्था नभई जीवन निर्वाह गर्न न्यूनतम् आवश्यक पर्ने आम्दानी नभइ अनिवार्य शिक्षाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक तथा कापी कलम जस्ता स्टेशनरी उपलब्ध गराउन नसक्ने अवस्थामा रहेको छात्रवृत्ति प्रदान गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.