|

ललितपुर : आगामी साता भारतको बेंगलुरुमा १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदै छ। साफ च्याम्पियनसीपको इतिहासमा अहिलेसम्म भारतसँगै सबैभन्दा बढी १३ पटक नेपालले सहभागिता जनाएको छ।

सन् १९९३ मा पाकिस्तानमा आयोजना भएको पहिलो संस्करणबाट भाग लिएको नेपालले सन् २०२१ मा माल्दिभ्समा भएको १३ औँ संस्करणको साफ च्याम्पियनसीपसम्म लगातार खेलिरहेको छ।

नेपालका लागि सबैभन्दा ठूलो उपलब्धिका रूपमा गत संस्करण रह्यो। सन् २०२१ मा माल्दिभ्समा भएको १३ औँ संस्करणमा भारतसँग फाइनलमा ३–० ले पराजित हुँदै नेपाल उपविजेत बनेको थियो।

योबाहेक पहिलो संस्करणमा आयोजक पाकिस्तानलाई नै हराएर नेपालले तेस्रो स्थान हाँसिल गरेको थियो। त्यो बाहेक ६ वटा संस्करणमा समूहचरणबाटै नेपाल बाहिरिएको थियो। ५ पटक सम्म सेमिफाइनलसम्म पुगेर अगाडी बढ्न सकेको थिएन।

इतिहास हेर्ने हो भने प्राय सबै संस्करणमा भारत नै नेपालका लागि हाउगुजी बनेर आएको देखिएको छ। नेपाली फुटबलको तयारीलाई हेर्ने हो भने त्यति सन्तुष्ट हुने अवस्था नरहे पनि नेपाली युवा खेलाडी र नयाँ प्रशिक्षकको प्रशिक्षणबाट नेपाली टोलीले राम्रो नतिजा दिनसक्ने आशा गर्न सकिन्छ।

फुटबल विश्लेषकहरु साफ च्याम्पियनसीपको यो संस्करणलाई सक्दो सदुपयोग गरेर राम्रो नतिजा पस्किनुपर्ने बताउँछन्। 

अर्को साता बेंगलुरुमा हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३  सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन्। डिफेन्डर विमल पाण्डे, सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन्।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले यसपालि साफ राष्ट्रसँग कुवेत र लेवनानजस्ता दुई राष्ट्र पनि खेल्ने हुँदा यो अर्कै लेभलको प्रतियोगिता हुने बताएका छन्। विगतमा एउटै खालको हुने प्रतियोगिता यसपालि फरक हुने उनको भनाइ छ।

'यसपालि प्रतिस्पर्धात्मक हुन्छ, नेपालका लागि चुनौतीपूर्ण छ ,उनले भने र्,  त्यहि पनि हामी सक्दो राम्रो खेल पस्कनेछौँ।'

दक्षिण एशियाली फुटबलको महाकुम्भ साफ च्याम्यिनसीपमा यसपाली ६ वटा साफका सदस्य राष्ट्र र २ वटा आमन्त्रित देशले खेल्दैछन्। असार ६ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र  भुटानले साफ राष्ट्रका रुपमा प्रतिस्पर्धा गर्दा श्रीलंका भने फिफा प्रतिबन्धका कारण खेल्नेछैन।

केही समय दक्षिण एशियाबाट फुटबल खेलेको अफगानिस्तान भने केही वर्षअघि नै मध्य एशियाबाट फुटबल खेल्न थालिसकेको छ। यसपाली कुवेत र लेवनानले आमन्त्रित सदस्यका रूपमा च्याम्पियनसिप खेल्नेछन्। 

सबैभन्दा सफल टोलीका रूपमा भारतले यो प्रतियोगितामा अहिलेसम्म ८ पटक उपाधि जित्दा ४ पटक उपविजेता भएको छ। सन् २००३ मा बंगलादेश विजयी हुँदा भारत तेस्रो स्थानमा खुम्चिएको थियो। यसबाहेक माल्दिभ्सले सबैभन्दा धेरै २ पटक उपाधी जितेको छ। सन् २००८ र २०१८ मा दुबै पटक भारतलाई नै हराएर उसले उपाधी माथि कब्जा जमाएको थियो। दुई पटक भारतसँग र एक पटक बंगलादेशसँग फाइनलमा हारेर माल्दिभ्स उपविजेता बनेको थियो। 

बंगलादेश, अफगानिस्तान र श्रीलंकाले एक-एक पटक उपाधि जितेका छन्। बंगलादेशले सन् २००३ मा उपाधी जित्दा १९९९ र २००५ मा भारतसँग नै पराजित भएर उपविजेता बनेको थियो। श्रीलंकाले १९९५ मा भारतलाई हराएर उपाधी जितेको थियो भने १९९३ मा बंगलादेशसँग हारेर उपविजता भएको थियो। 

साफ च्याम्पियनसिपको तयारीस्वरूप नेपालले बिहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल्दैछ। समूह ए मा नेपाल, साविक विजेता भारत, पाकिस्तान र कुवेत रहेका छन्। यसैगरी समूह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन्।

साफको उद्घाटन खेलमा असार ६ गते नेपाली समय अनुसार पौने ४ बजे नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ। यसपछि आफ्नो दोस्रो खेलमा नेपालले असार ९ गते आयोजक भारतसँग  र समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल्नेछ। 

 
नेपाली टोली ः
गोलरक्षक : किरण कुमार चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षापंक्ति : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, सिमान्त थापा र रोहित चन्द। 

मध्यपंक्ति : पुजन उपरकोटी, लाकेन लिम्बु , एरिक विष्ट, आभास लामिछाने , नवीन लामा, मणिकुमार लामा। 

अग्रपंक्ति :  अन्जन विष्ट, दिपकराज सिंह ठकुरी , आयुष घलान, आशिष चौधरी , नवयुग श्रेष्ठ,  मनिष डाँगी, विमल घर्ती मगर। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.