शुल्क निर्धारण गरी कडाइ गर्ने मेयर बालेनको रणनीति

|

काठमाडौं : काठमाडौं महानगरपालिका पछिल्लो समय महानगरभित्र शैक्षिक सुधार र विद्यालयमा भएका बेथितिविरुद्ध लागि परेको छ। महानगरपालिकाका प्रमुख बालेन शाहले निजी विद्यालय होस् या सरकारी (सामुदायिक) विद्यालयहरूलाई कडाइ गर्दै गएका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले सरकारी तथा निजी विद्यालयको सुधार, व्यवस्थापन, शुल्क निर्धारण र अनुगमन गर्ने जिम्मा पाएको छ। यही ऐनमा टेकेर महानगरपालिकाले विद्यालयहरूलाई नियमन गर्न लागेको हो।

काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमका रूपमा नेपाल भाषा विषय अध्यापन गराउन निजी तथा सरकारी (सामुदायिक) विद्यालयहरूलाई निर्देशन दिएको छ।

महानगरपालिकाले जेठ २४ गते सार्वजनिक सूचना नै जारी गरेर नेपाल भाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेकाले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले गरेको प्रावधान अनुरूप अनिवार्य पठनपाठन गराउन निर्देशन दिएको हो।

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाले निजी (संस्थागत) विद्यालयले नेपाल भाषा अध्यापन गर्ने शिक्षकको नामनामेसी र दैनिक कार्यतालिका महानगरको शिक्षा विभागमा पठाउनु भनेको बताए।

छात्रवृत्ति वितरण नगर्ने विद्यालयको नाम सार्वजनिक

महानगरपालिकाले बारम्बार छात्रवृत्ति वितरणको लागि ताकेता गर्‍याे तर अटेर गरेपछि गत मंगलबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा निजी विद्यालयको नाम सार्वजनिक गरेको छ।

महानगरपालिकाले निजी विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरूलाई उपलब्ध गराउने छात्रवृत्ति सम्बन्धमा वैशाख १० गते नै परिपत्र जारी गरेको थियो।

जेठ १० गते गोरखापत्रमै सार्वजनिक सूचना जारी गरी जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी त्यसको जानकारी जेठ १६ गते कार्यालयमा पठाउन निर्देशन दिएको थियो तर विवरण पठाएनन् ती विद्यालयहरूले। 

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सिताराम कोइरालाले निर्देशनपछि अहिले धमाधम विद्यालयहरूले छात्रवृत्ति प्रदान गरी सो को विवरण विभागमा पठाउने गरेको जानकारी दिए।

एसइई नतिजा प्रकाशन भएपछि मात्रै भर्ना गर्न निर्देशन

निजी विद्यालयहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्नासम्बन्धी सूचना प्रकाशन गर्न थालेपछि महानगरपालिकाले त्यसो नगर्न निर्देशन दिएको छ। भर्नासम्बन्धमा महानगरमै उजुरी परेको छ।

सूचनामा भनिएको छ, ‘महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा यस विभागको ध्यानाकर्षण भएको छ, कक्षा–१० को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नासम्बन्धी कुनै पनि प्रकृया नगर्नुहुन सूचित गरिन्छ।’

पढाइसँगै विद्यार्थीलाई स्कुलमै सीपमूलक तालिम 

महानगरपालिकाले सरकारी विद्यालयका विद्यार्थीहरूलाई पढाइसँगै सीपमूलक तालिम पनि दिन थालेको छ। महानगरपालिकाका अनुसार कक्षा ९ मा ९० घण्टाको छोटो अवधिको सीपमूलक तालिम १० वटा मोड्युलमा सञ्चालन हुनेछ। 

सीपमूलक तालिमको लागि एक समूहमा ३० जना विद्यार्थी रहने छन्। महानगरपालिकाको शिक्षा विभागका अनुसार एग्रिकल्चर एण्ड अर्बन फार्मिङ, ब्युटिसियन एण्ड हेयर स्टायल, कार्पेन्ट्री एण्ड उड कार्भिङ, कुलिनरी आर्टस, फेशन डिजाइन एण्ड क्लोथिङ कन्स्ट्रक्सनमा तालिम दिइनेछ।

त्यस्तै, हाउस वायरिङ एण्ड इलेक्ट्रिकल, इन्डिजिनियस एण्ड कन्टेम्पोररी मेसोनोरी (डिजास्टर रेडिनेस), मोबाइल एण्ड इलेक्ट्रोनिक्स, प्लम्बिङ र आर्ट एण्ड स्कप्चर मोड्युलमा तालिम दिइनेछ। यो तालिम सुरू भइसकेको छ। महानगर प्रमुख बालेन शाहले बेलाबेला उक्त तालिमको अनुगमन गर्दै आएका छन्।

अरू के-के गर्दैछ महानगर?

काठमाडौं महानगरपालिकाले अरू थप शैक्षिक सुधारका निम्ति कदम चाल्दै छ। महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी कोइरालाले सबै निजी विद्यालयहरूलाई छात्रवृत्ति वितरण गराएर विवरण पठाइसकेपछि शुल्क निर्धारण गर्ने जानकारी दिए।

उनले भने, ‘पहिला हामी यो छात्रवृत्ति वितरण गराई सबै प्रकृया टुंग्याउँछौँ र त्यसपछि विद्यालयको शुल्क निर्धारण गर्छौं।’ 

स्थानीय तहहरूले शुल्क निर्धारण गरी नियमन गर्न नसक्दा अझै पनि निजी विद्यालयहरूले आफूखुसी चर्को शुल्क अभिभावकबाट असुलिरहेका छन्।  त्यस्तै, महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र खोल्ने र यसबाट सामुदायिक विद्यालय जोड्ने तयारी गरेको छ।

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी कोइरालाका अनुसार अहिले ३२ वडामध्ये ८ र ९ वडामा यो केन्द्र खोलिएको छ।

‘आगामी असारसम्ममा सबै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र खोल्ने छौँ, यहाँबाट सामुदायिक विद्यालयका विद्यार्थीलगायत सबैले सेवा पाउने छन्। नर्सले पनि विद्यालयमा गई स्वास्थ्य सेवा प्रदान गर्ने छन्,’ उनले भने।

यस्तै, महानगरपालिकाले मापदण्डविपरीत सञ्चालित निजी विद्यालयलाई कारबाही गर्ने पनि चेतावनी दिएको छ।

काठमाडौं महानगरपालिकाले पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका, २०७३ को बुँदा (११) मा विद्यालयको न्यूनतम मापदण्ड तोकेको छ। जसमा खुला इनार, पोखरी, भीर, खोला, फोहोर संकलन केन्द्र, बसपार्क, ध्वनि प्रदूषण‚ उद्योगधन्दा, हवाई मैदानबाट ५ सय मिटर बाहिर हुनुपर्ने मापदण्ड छ।

त्यसैगरी निर्देशिकाको ‘घ’मा विद्यालय भवन आसपासमा पेट्रोलपम्प, मुख्य सडक, ट्राफिक जोखिम नभएको स्थानमा हुनुपर्ने उल्लेख छ। तर यी मापदण्डभित्र रहेर काठमाडौं उपत्यकाभित्रका निजी विद्यालय सञ्चालन भएका छैनन्। 

‘यसका पनि मापदण्ड छन्, त्यसैअनुसार विद्यालय चल्नुपर्छ, हामी यही साउन पछिदेखि अनुगमन थाल्छौँ, त्यस्ता पाए ६ महिना समय दिन्छौँ, त्यो समयभित्र पनि मापदण्ड पूरा नगर्ने विद्यालय बन्द गर्छौ,’ महानगरका प्रमुख शिक्षा अधिकारी काेइरालाले भने। 

अस्पतालमा पनि महानगरको कडाइ

महानगरपालिका शिक्षा क्षेत्रमात्र नभइ स्वास्थ्य क्षेत्रमा भएको बेथितिविरुद्ध पनि आक्रामक बनेको छ। महानगरपालिकाले गत सोमबार दर्ता नगरी सञ्चालित बौद्धस्थित चाइनिज पिपल्स हस्पिटल प्रालि र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एण्ड बर्थिङ सेन्टरमा ताला लगाएको छ।

पटक-पटक निर्देशन दिँदा पनि नियममा आउन नमानेपछि यी अस्पतालमा ताला लगाएको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

यस्तै, महानगरप्रमुख शाहले यसअघि उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ अनिवार्य नि:शुल्क उपचार गर्नुपर्ने र त्यस्ता उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिइसकेका छन्। 

बालेन भन्छन्, ‘विद्यालयको गुणस्तर सुधार्न निरन्तर लागिपरेका छौं’

महानगरपालिका प्रमुख शाहले महानगरपालिकाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकता राखेर काम गर्दै आएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएका छौं, पछिल्लो समयमा हरेक शुक्रबार विद्यालयमा विद्यार्थीहरूसँगै बस्ने र उनीहरूसँग बसेर सिक्ने गरेको छु, हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौं।’ 

उनले चुनावी घोषणापत्रमा हप्तामा एक दिन सरकारी (सामुदायिक) विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरेका थिए।

‘सोही घोषणाअनुरूप महानगरको सबै सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ, यसअन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सीप’ कार्यक्रमको अनुगमनको पनि सुरू गरिएको छ।’

उनले विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताए। ‘यसले विद्यार्थीहरूमा श्रम प्रतिको आदर र सम्मान भाव विकास हुने हामीले आशा राखेका छौं,’ उनले भने।

उनले विभिन्न विद्यार्थी संगठनले लगाएको विद्यालयको ताला हिजो (मंगलबार) फोड्न लगाएका थिए। उनले निजी विद्यालयको नाम र चिह्नका बारेमा एकरूपता ल्याउन भन्दै नामकरण र चिह्नबारे नयाँ व्यवस्था ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.